फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढीमा फेरि पहिरो

(GMT+08:00) 2015-05-21 19:21:55

       रसुवा जिल्लाको टिमुरेगाउँ र रसुवागढीबीचको घट्टेखोला नजिक हिजो बुधबार दिउँसो पुन: सुख्खा पहिरो झरेको छ। जसका कारण रसुवागढी–केरुङ सडक पुन: अवरुद्ध भएको छ। यस्तै, 16 किलोमिटर लम्बाइको स्याफ्रु–रसुवागढी सडक टिमुरेगाउँसम्म मात्र सुचारु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

         पुन: पहिरो झरेको क्षेत्र नेपाल–चीन सीमाबाट 1 किमि दूरीमा पर्छ। 'ट्रयाक खुले पनि ढुंगा खस्नुका साथै पहिरो गइरहेको छ,' सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले भन्नुभयो। सडक सुचारु भएको खबरले गाडीको चाप बढेकाले प्रशासनले स्याफ्रुबेंसीबाट उद्धार गर्न खटिएका र सुरक्षाकर्मीको गाडीबाहेकलाई रोक लगाएको छ। रसुवागढीमा सेनाको नारायणदल गणका 60, सशस्त्रका 19, नेपाल प्रहरीका 19 र 1 सय 60 चिनियाँ अर्धसैनिक बल बेपत्ताको खोजी र अवरुद्ध सडक सुचारु गर्न खटिइरहेका छन्।

        एक सातादेखि चिनियाँ भूभाग केरुङ हुँदै रसुवा पोर्टसम्मको 22 किलोमिटर सडक चीनको चिलोङ काउन्ट्री सरकारले सुचारु गरिसकेको छ। त्यसपछि उनीहरू नेपाल सीमा रसुवागढी आएर उद्धारमा जुटेका हुन्। एक साताअघि नै अर्को चिनियाँ टोली तातोपानी नाका, काठमाडौं, धुन्चे, स्याफ्रुबेंसीको अवरोध हटाउँदै रसुवागढी पुगेका थिए। दुवै पक्षको सहभागितामा ट्रयाक खुल्न नपाउँदै पहिरो झरेको सहायक प्रजिअ रिमालले बताउनुभयो।

        रसुवागढी नाकामा बुधबार सुख्खा पहिरोले पुरिएका 4 वटा कन्टेनर उद्धार टोलीले झिकेका छन्। 'पूरै डाँडै आएर बसेको छ,' रिमालले भन्नुभयो। रसुवागढीमा बेपत्ता 16 जना अझै फेला परेका छैनन्। महाभूकम्पले रसुवागढी माथिबाट झरेको पहिरोले 11 कन्टेनरसहित मान्छे छोपिएका थिए। 'पाइएका कन्टेनर सबै कच्याककुचुक अवस्थामा छन्,' डीएसपी प्रवीण पोखरेलले भन्नुभयो, 'मान्छे भेटिएका छैनन्।'

         सार्वजनिक सवारीलाई स्याफ्रुबेंसीबाट अगाडि जान बुधबारदेखि रोक लगाइएको छ। महाभूकम्पबाट अध्यागमन, साना होटल, भन्सार कार्यालय र स्टोर ध्वस्त भएका थिए।

 

जानकारी तथा लेखहरु
सुझाउ