फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको नवनिर्माणमा समर्पित भएको प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2015-05-23 18:56:34

       प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले ल्याएको अकल्पनीय विनासपछि सबै नेपाली एकजुट भएर मुलुकको नवनिर्माणमा समर्पित भएको बताउनु भएको छ। आज शनिबार बिहान नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद विभाग विपद् व्यवस्थापन स्वयंसेवकलाई भूकम्प प्रभावित क्षेत्रमा भत्केका घरका भग्नावशेष हटाउने र अस्थायी घर टहरा निर्माण गर्ने सामग्री हस्तान्तरण कार्यक्रममा कोइरालाले हरेक परिवर्तनका बाहक बन्दै आएका नेपालका युवाहरुमा मुलुकमा प्राकृतिक विपद आइपर्दा जागृत भएको कर्तव्यनिष्ठाको भावना नै राष्ट्र निर्माणको सूत्र भएको बताउनु भएको नागरिक अनलाइनले लेखेको छ। 'नेपालको नवनिर्माणमा हामी समर्पित भएर लाग्ने छौँ,' उहाँले भन्नुभयो,'यो अठोट र प्रण लिएर बढौँ। हामी अवश्य सफल हुनेछौँ।'

         सो अवसरमा प्रधानमन्त्री कोइरालाले युवाहरुमा निहित साहस र हिम्मतको प्रशंसा गर्दै भन्नुभयो,' भूकम्प पीडितहरुप्रति मानवीय संवेदना र सहयोगको अत्यन्त खाँचो रहेको छ। पीडितहरुलाई विश्वास दिलाउनु पर्दछ।' कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भूकम्प पीडितहरुका लागि भावनात्मक सुरक्षा आवश्यक रहेको बताउनुभयो।

        उहाँले परिवारका सदस्य गुमाएका र बस्ने घर, पढने विद्यालय, औषधोपचार गर्ने स्वास्थ्य चौकी जस्ता भौतिक संरचना ध्वस्त भएका भूकम्प पीडितहरुलाई अहिले भावनात्मक सुरक्षा, राहत र सद्भावनाको ठूलो खाँचो रहेको बताउनुभयो। देउवाले युवालाई विपद्को समयमा सधैँ युवाहरु साथमा रहन्छन भन्ने सन्देश दिन आग्रह गर्नुभयो। कार्यक्रममा कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले श्रमको संस्कृति बढाएर मुलुकको पुनर्निर्माण र नवनिर्माणलाई परिणाममा पुर्‍याउन युवालाई आग्रह गर्नुभयो। 'यो काम गर्ने बेला हो। हातहरु अगाडी बढाऔँ। पसिना चुहाएर यो मुलुकको विकास निर्माण गरौँ,' उहाँले भन्नुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ