फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिरोले कालीगण्डकी थुनिएपछि तल्लो तटीय बस्ती खाली गरियो

(GMT+08:00) 2015-05-24 18:28:52

         महाभूकम्पले चर्किएको पहाडमा धुले पहिरो जाँदा म्याग्दीमा कालीगण्डकी नदी थुनिएर 26 घर डुबानमा परेका छन्। म्याग्दीको भगवती–2 बैंसरीमा हिजो शनिबार राति 1 बजे सुख्खा पहिरो जाँदा कालीगण्डकी नदी पूर्णरुपमा थुनिएर ड्याम बनेपछि 26 घर डुबेको नागरिक अनलाइनले लेखेको छ। पहिरोले नदी थुनिए पछि सो स्थानका 26 घर डुबेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो। सो स्थानमा गत शुक्रबार पहिरो खसेर जोखिम भएपछि प्रशासनले बैसरी र राम्चेका 26 घरलाई सुरक्षित स्थानमा सारेको थियो। प्रशासनको निर्देशनमा 26 घरलाई सुरक्षित स्थानमा सारिएकोले घर डुबे पनि पहिरोले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो।

        'भूकम्पले पहाडनै चर्किएकोले पहिरो जाने डरले 26 घरलाई यस अघिनै सुरक्षित स्थानमा सारेका थियौँ' प्रजिअ केसीले भन्नुभयो,'पूर्व सर्तकर्ता अपनाएकोले मानवीय क्षति भएन।'पहिरोले कालीगण्डकी नदीमा दुई सय मिटर अग्लो ड्याम बनेको धौलागिरी अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताउनुभयो। ड्याम भरिएर ओभर फ्लो हुन अझै समय लाग्ने चौधरीले बताउनुभयो। 'अझै 50 मिटर पानीको सतह बढेपछि ओभर फ्लो हुनेछ' चौधरीले भन्नुभयो,'पहाडनै खसेकोले ठूलो ड्याम बन्यो।' ड्याम खोल्नको लागि प्राविधिकको टोली ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो।'विज्ञ सहितको टोली हेलिकप्टरबाट ल्याउने तयारी भएको छ' उहाँले भन्नुभयो।

          कालीगण्डकी नदी थुनिएपछि कालीगण्डकी नदीका तटीय क्षेत्रका सात जिल्लाका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा बस्न'हाइ अलर्ट गराई सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएका छन्। म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा, नवलपरासी जिल्लाका नदी निकारका बस्तीमा उच्च सर्तकता अपनाउँदै खाली गरिएको छ। बेनीबजार हुँदै बग्ने कालिगण्डकीमा राहुघाट खोलाको पानी मात्र आएको छ। सर्वसाधारण मध्यरातमा आसपासका डाँडामा गएर बसेका छन्। जनजीवन त्रसित अवस्थामा रहेको छ। नदी थुनिएपछि बसपार्कमा रहेका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ लगिएको छ। विभिन्न जिल्लाबाट म्याग्दी आउने रात्रीबसहरू विचबाटोमै रोकिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ