फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पका कारण घरजग्गा क्षेत्रमा पनि नकारात्मक असर

(GMT+08:00) 2015-05-25 17:21:16

काठमाडौं उपत्यका र भूकम्प प्रभावित जिल्लाहरुमा घरजग्गा किनबेचमा आएको कमीले सरकारको राजस्व पनि घटेको छ। चालु आर्थिक वर्षमा घरजग्गा कारोबारबाट आउने राजस्व उच्च दरले बढेका बेला वैशाख 12 मा आएको भूकम्प र त्यसपछिका धक्काले घरजग्गा खरिद बिक्री सून्यजस्तै भएपछि राजस्व असुली पनि घटेको हो।

नागरिकन्यूज डट कमका अनुसार सरकारले घरजग्गा कारोबारबाट असुली गर्ने कुल राजस्वमध्ये काठमाडौं उपत्यकाबाट करिब आधा रकम उठाउने गरेको थियो। वैशाख 12 पछि काठमाडौं उपत्यकामा घरजग्गा किनबेच लगभग सून्यजस्तै भएकाले सरकारले राजस्व पनि गुमाएको हो।

भूमी तथा व्यवस्थापन विभागका अनुसार भूकम्प आउनु अगाडिको महिना चैतमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुले करिव 58 करोड रुपैयाँ राजस्व उठाएका थिए। फागुनमा यो 50 करोड भन्दा बढी थियो । तर, भूकम्प आएको बैशाखमा भने राजस्व करिव 25 करोडमा सीमित भएको छ । यो राजस्वमध्ये लगभग 95 प्रतिशत अंश भूकम्प आउनुभन्दा पहिले (वैशाख 11 सम्म) उठेको हो । मालपोत कार्यालयका अधिकारीहरुका अनुसार भूकम्प पछिका दिनमा घरजग्गा खरिद बिक्रि गर्नेहरु नगन्य छन्।

विभागका अनुसार डिल्लीबजार मालपोतले अरु महिनाहरुमा 15–17 करोड रुपैयाँ राजस्व उठाउने गरेकामा बैशाखमा जम्मा 4 करोड 64 लाख रुपैयाँ संकलन गरेको छ । यो रकममा पनि अधिकांस भूकम्प अघिको नै हो । यस्तै कलंकी मालपोतले पनि 4 करोड रुपैयाँ मात्र राजस्व उठाएको छ । भूकम्प आउनुभन्दा अघिल्ला महिनाहरुमा यो मालपोतले करिव 10 करोड रुपैयाँ राजस्व उठाउने गरेको थियो । भक्तपुर मालपोतले पनि वैशाखमा 3 करोड 83 लाख राजस्व उठाएको छ । यो पनि अन्य महिनाका तुलनामा कम हो।

भूकम्प प्रभावित क्षेत्रमा चालु आवको बाँकी समयमा घरजग्गा कारोबार बढन नसक्ने देखिन्छ । मालपोत कार्यालयका अधिकारीहरु पनि चालु आवको बाँकी दुई महिना (जेठ र असार) मा काठमाडौं र भूकम्प प्रभावित जिल्लाहरुमा घरजग्गा कारोबार बढ्न नसक्ने अनुमान गर्छन्।

विभागका अनुसार भूकम्पबाट प्रभावित जिल्लाहरुको राजस्व संकलन काठमाडौं उपत्यकाको जस्तै घटेको छ। प्रभावित नभएका अन्य जिल्लाहरुमा भने राजस्व बढने क्रम जारी रहेको वैद्यले जानकारी दिनुभयो। विभागका अनुसार पूर्वी तराईका जिल्लाहरुमा पनि राजस्व बढेको छ । झापा, सुनसरी, मोरङ, चितवनलगायतका जिल्लाहरुमा राजस्व बढेको छ।

भूकम्प आउनु अघि चालु आर्थिक वर्षको पहिलो 9 महिना (चैत) सम्ममा सरकारले घरजग्गा कारोबारबाट करिव 8 अर्ब रुपैयाँ राजस्व असुली गरेको थियो। यो गत आर्थिक वर्षको यही अवधिका तुलनामा 60 प्रतिशतले बढी थियो। गत आर्थिक वर्षको चैतसम्म 5 अर्ब 5 करोड रुपैयाँ राजस्व उठेको थियो । मुलुकभरमा नै राजस्व असुली उच्च भए पछि सरकारी वार्षिक लक्ष्य 8 महिनामै उठेको थियो ।

विभागका अनुसार यो वर्ष फागुनमा एक अर्ब 10 करोड र चैतमा एक अर्ब 17 करोड रुपैयाँ राजस्व उठेको छ । गत वर्ष फागुनमा 74 करोड र चैतमा 77 करोड असुली भएको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ