फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन नेपालको महत्त्वपूर्ण सारथि रहेको नेपालका प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2015-08-02 18:25:35

प्रधानमन्त्री सुशील कोइरालाले नेपाल–चीन सम्बन्ध समस्यारहित र आपसमा असल सहयात्रीका रूपमा रहेको बताउनु भएको छ। चीन नेपालको निकै विश्वासिलो, विकासमा सहयोग गर्ने महत्त्वपूर्ण सारथि रहेको उहाँले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपाल चीनको कूटनीतिक सम्बन्ध स्थापनाका अवसरमा परराष्ट्र मन्त्रालयले हिजो अगष्ट एक तारिख शनिबार गरेको रात्रिभोज सहितको कार्यक्रममा कोइरालाले भूकम्पपछि चीनले राहत तथा उद्धारकार्यमा देखाएको उत्साह र सहयोगप्रति पनि आभार व्यक्त गर्नुभयो। 'चीनले नेपालको विकासमा सधैं सद्भावको साथै विकास प्रक्रियामा समेत सहयोग गर्नेछ,' उहाँले भन्नुभयो, 'नेपाल पनि चीनको आन्तरिक मामिलामा निकै संवेदनशील छ र एक चीन नीतिमा अडिग छ।'

चीनसँगको नेपालको सहकार्य र सम्बन्ध भनेको एसियाली मुलुकको विकास र सहकार्यको सम्बन्ध रहेको समेत उहाँले बताउनुभयो। उहाँले नेपाल चीन दुवैमा राजनीतिक उतारचढाव यो 6 दशकमा रहेको पनि बताउनुभयो। संविधान जारी गर्ने प्रक्रियामा मुलुक रहेको भन्दै प्रधानमन्त्री कोइरालाले संविधान आएपछि मुलुकले राजनीतिक स्थायिस्त्व पाउने र विकास प्रक्रिया पनि अघि बढ्ने हुनाले चीनजस्ता छिमेकको सहयोग र सद्भाव झन् टड्कारो रूपमा रहेको बताउनुभयो।

दुई देशबीच कूटनीतिक सम्बन्ध औपचारिक रूपमा स्थापित भएको 60औँ वर्षगाँठका अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एक–अर्कामा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ। दुवैले एक–अर्का मुलुकको उत्तरोत्तर प्रगति र दिगो शान्तिमा जोड गर्नु भएको छ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि नेपाल–चीन सम्बन्ध निकै सुमधुर रहेको र आउँदा दिनमा धेरै सहकार्य हुँदै अघि बढ्न आवश्यक रहेको बताउनुभयो। सञ्चारमन्त्री मीनेन्द्र रिजालले पनि चीन नेपालको सच्चा मित्र र विकास सहयात्री रहेको बताउनुभयो। नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाईले चीन–नेपाल सम्बन्धलाई अझ उचाइमा लैजान चीनका राष्ट्रपति सी जिनपिङले गरेको प्रणलाई सुनाउँदै भन्नुभयो, 'नेपालको विकासका लागि चीन सधैँ सँगै रहेको दोहोर्‍याउन चाहान्छु।'

त्यस अवसरमा दुई देशको सम्बन्धको प्रतीकका रूपमा नेपाल र चीनको झन्डाअंकित र छायामा हिमाल रहेको 20 रुपैयाँको हुलाक टिकटमा टाँचासमेत लगाइयो। उक्त टिकट पाँच लाखप्रति छापिएको जानकारी दिइएको छ।

जानकारी तथा लेखहरु