फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्वारा नाकाबन्दी हटाएको भनेपछि पेट्रोलियन दिन आनाकानी

(GMT+08:00) 2015-10-04 19:00:49

         भारतले नेपालतर्फको आपूर्ति सहज बनाउन निर्देशन दिएको बताए पनि अझै अघोषित नाकाबन्दी व्यवहारिक रुपमा अझै हटेको छैन । नेपालमा घोषणा भएको संविधानमा मधेसका केही मुद्दा सम्बोधन नभएको भन्दै छिमेकी मुलुक भारतले झण्डै दुई सातादेखि नाकाबन्दी गरेको थियो । भारतले नाकाबन्दी खोलेको समाचार आए पनि आइतबार भारतीय सीमानाकाहरुको समाचार सुखद बन्न सकेको छैन ।

          आपूर्तिमन्त्री सुनीलबहादुर थापाले सोमबारबाट भारतले इन्धनसहितको आपूर्ति सहज बनाउने खबर आएको जानकारी दिनुभएको थियो। तर, व्यवहारिकरुपमा भने सीमानाकाहरुमा भारतीय असहयोग कायमै रहने देखिएको छ। नाकाबन्दीको मुख्य असर इन्धन आपूर्तिमा परेको छ, र यो सहज नभएसम्म व्यवहारिक रुपमा भारतीय नाकाबन्दी कायमै रहन्छ।

          अनलाईन खबरका अनुसार नेपाल भारत आयात-निर्यातको मुख्य भन्सार नाका वीरगञ्जको रक्सौल अझै खुलेको छैन। नेपालतर्फ मधेसी मोर्चाको धर्ना कायमै छ भने भारतीय पक्षको अवरोध पनि कायमै छ। नेपाल आयात निर्यातको करिव 70 प्रतिशत रक्सौल नाकाबाट मात्रै हुने गरेको छ। वीरगञ्जको अवरोध नहट्नु भनेको भारतको अघोषित नाकाबन्दी व्यवहारिक रुपमा कायमै रहनु जस्तै हो।

          भारतसँगको अन्य सीमा नाकाहरुमा पनि भारतले भनिए जस्तो सहज आपूर्तिको व्यवस्था मिलाएको छैन । नेपाल आयल नियम स्रोतका अनुसार इन्डियन आयल कर्पोरेशसन (आईओसी) ले नेपाललाई तीन स्थानबाट मात्र तेल दिने बताएको छ । बैतालपुर, गुण्डा, बरौनीबाट भने तेल नदिइने उसले बताएको छ।

           भारतले तेल दिने भनिएको रक्सौलमा भन्सार नाकाको अवरोध कायमै छ । भारतीयतर्फ गइसकेका नेपाली ट्यांकरहरुलाई तेल दिएपनि उनीहरुलाई नेपालतर्फ आउन नदिएपछि त्यसको कुनै अर्थ रहेन।

          भारतको तेल दिने भनिएको अर्को दुई स्थान सिलगुढी र ईलाहबाद हो । तर, तेल लिन पुगेका मध्ये 10 प्रतिशत ट्यांकरमा मात्र मात्र लोड गर्ने बताएको छ । आयल निगमका अनुसार आईओसीको रक्सौल डिपोमा पुगेका 63 ट्यांकरमध्ये आज 5 वटा ट्यांकरमा मात्रै तेल भरेको छ।

          सिलगुढी पुगेका 40 ट्यांकरमध्ये 3 र ईलाहबादमा पुगेका 6 वटा नेपाली ट्यांकर मध्ये एउटामा मात्रै तेल भरिएको छ। सिलगुढीमा तेल भरेका ट्यांकरहरु काँकडभिट्टाबाट नेपाल प्रवेश गर्छन् भने ईलाहबादमा तेल भरेका ट्यांकरहरु कैलालीको गड्डा चौकीबाट भित्रिने गरेका छन् ।

          तेल आयातका लागि सहज मानिएको भैरहवा पारीको बैतालपुर र नेपालगञ्ज पारीको गोन्डाबाट भने उसले तेल नदिने बताएको छ । यसले पनि भारतले अहिले पूर्णरुपमा नाकाबन्दी हटायो भन्ने भ्रम मात्र हुने अधिकारीहरु बताउँछन्।

जानकारी तथा लेखहरु