फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रेम दिवसको पूर्व सन्ध्यामा भारतबाट 1 लाख गुलाव ल्याइयो

(GMT+08:00) 2016-02-13 16:03:20
प्रेम दिवसको लागि यो वर्ष भारतबाट 1 लाख वटा प्रेमको प्रतीक मानिने रातो गुलाफ नेपाल ल्याइएको छ। गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समयभर बढी मात्रामा रातो गुलाफ प्रयोग हुने भएकाले भारतबाट फूल आयात गरिएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। आयात गरिएको 1 लाख फूलको मूल्य रु 30 लाखदेखि 40 लाख रुपैयाँ भएको बताइएको छ। फेब्रुअरी 14 तारीखको दिन प्रेमी प्रेमिकाले उपहारको रूपमा एक आपसमा रातो गुलाफ आदान प्रदान गर्ने गर्छन्। हाल नेपालमा रातो गुलाफ दैनिक 5 हजारदेखि 7 हजार आवश्यक पर्ने बताइएको छ। गर्मीको समयमा स्वदेशी उत्पादनले र जाडोको समयमा भारतबाट आयात गरी माग पूरा गर्ने गरिएको छ। गतवर्ष पनि प्रणय दिवसका लागि भारतबाट सोही परिमाणमा गुलाफ ल्याइएको थियो। बर्सेनि आयात कम गर्ने भनिए पनि भूकम्पका कारण यसवर्ष फूलखेती त्यति फस्टाउन नसकेकाले गत वर्षको जतिनै फूल आयात गर्नु परेको अध्यक्ष गैरेले बताउनुभयो। नेपालमा वार्षिक 4 करोड रुपैयाँबराबरको फूल आयात हुँदै आएको छ। विदेशबाट आयत गरिएको र स्वदेशमा नै उत्पादन भएको गरी 1 अर्ब 30 करोडको फूलको वार्षिक कारोबार हुँदै आएको छ। प्रणय दिवसको दिन रातो गुलाफ र तिहारमा सयपत्री फूल भारतबाट आयात हुँदै आएको छ। केही वर्षदेखि नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने भनिए पनि फूल व्यवसायप्रति कृषक आकर्षित नहुने, यससँग सम्बन्धित विज्ञ नहुँदा आशानुरुप यो व्यवसाय फस्टाउन नसकेको एसोसिएसनका उपाध्यक्ष दिलीप वादेले बताउनुभयो। पछिल्लो समय होटल, विवाह, सभा सम्मेलनमा फूलको प्रयोग बढ्दै गए पनि व्यावसायिक कृषकको कमीले गर्दा माग पूरा गर्न सकिएको छैन। रातो गुलाफको विशेषगरी काठमाडौँ उपत्यकाको 3 वटै जिल्ला, काभ्रेपलाञ्चोक र चितवनमा व्यावसायिक रूपमा खेती हुँदै आएको छ। नेपालमा झन्डै 600 प्रजातिका फूलको व्यावसायिक खेती हुँदै आएको छ।
जानकारी तथा लेखहरु