फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वृक्षरोपण चाड—植树节

(GMT+08:00) 2016-03-12 14:33:32

चीनमा मार्च बाह्र तारिख वृक्षरोपण चाड मनाइन्छ। त्यसैले यो हप्ता हामी यस चाडबारे कुराकानी गर्दछौँ। प्राचीन चीनमा मानिसहरुले बसन्त ऋतुमा वृक्षरोपण गर्ने चलन भएता पनि आजको चाड फरक छ। आधुनिक समयमा वृक्षरोपण चाडको मूल अमेरिकाको नेब्रास्का राज्यबाट सुरु भएको थियो।

19 औँ शताब्दीअघि नेब्रास्का राज्यमा एउटा बालुवाको भूमि थियो। त्यहाँ रुख थोरै भएकाले ठूलो हावा चल्दा आकाश नै धुलाम्मे हुन्थ्यो। त्यस्तो हुँदा सो क्षेत्र आसपास बस्ने वासिन्दालाई निकै दुःख थियो। सन् 1872 मा अमेरिकाका एक जना निकै प्रसिद्ध कृषि विद्वानले नेब्रास्कामा रुख रोप्ने प्रस्ताव प्रस्तुत गरे। अनि सोही वर्ष त्यहाँ लाखौं रुखहरु रोपिए। त्यसपछिको सोह्र वर्षमा नेब्रास्कामा 60 करोडभन्दा बढी रुखहरु रोपिएकाले नेब्रास्काको एक अर्व वर्गमिटरको भूमिलाई जङ्गल बनाइयो। त्यसैले सन् 1885 मा ती कृषि विद्वानको प्रशंसा गर्दै नेब्रास्का राज्यको संसदले उहाँको जन्मदिनलाई हरेक वर्षको रुख रोप्ने चाड मनाउन सुरु गर्‍यो। यसरी आधुनिक समयमा वृक्षरोपण चाडको सुरुवात भएको हो।

आधुनिक चीनमा वृक्षरोपण चाड कहिलेदेखि शुरु भयो?सन् 1915 को जुलाईमा सुन चौं शानको आह्वानमा त्यतिबेलाको सरकारले औपचरिक रुपमा प्रत्येक वर्षको अप्रिल चार तारिख चीनमा वृक्षरोपण चाड मनाउन सुरु गरेको थियो। तर सन्1925 मार्च बाह्र तारिख सुन चौं शानको मृत्यु भयो। उहाँको सम्झनामा तत्कालीन सरकारले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको थियो। त्यसपछि हरेक वर्ष मार्च बार्‍ह तारिख वृक्षरोपण चाड मनाउन सुरु भएको हो।

वृक्षरोपण गर्दा मानिसलाई समाजमा केके फाइदा हुन सक्छ?अब हामी यस बारेमा केही चर्चा गरौँ।

अर्थशास्त्रको सिद्धान्तबाट विश्लेषण गर्दा एउटा पचास वर्षको रुखले उत्पादन गरेको अक्सिजनको मूल्य 31 हजार 2 सय अमेरिकी डलर बराबरको हुन्छ। त्यो रुखले हानिकारक ग्यास सोस्ने र वायु प्रदूषणको प्रतिरोध गर्ने कार्यको मूल्याङ्कन गर्दा लगभग 62 हजार 5 सय अमेरिकी डलर बराबरको मूल्य रहेको हुन्छ। भूमिलाई मलिलो बनाउनेमा एउटा रुखले लगभग 31 हजार 2 सय अमेरिकी डलरको काम गरिरहेको हुन्छ। जमिनमुनिको पानीको संरक्षण गर्ने कुराबाट हेर्दा एउटा रुखले 37 हजार 5 सय अमेरिकी डलर बराबरको काम गरेको हुन्छ। पंक्षी तथा अन्य पशुको बासस्थान उपलब्ध गराएको हिसाबले एउटा रुखले 31 हजार 2 सय पचास अमेरिकी डलर बराबरको काम गरेको हुन्छ। प्रोटिन उत्पादनबाट एउटा रुखले 2 हजार 5 सय अमेरिकी डलरको काम गरेको हुन्छ। यसरी जम्मा गरी एउटा रुखले पचास वर्षको आफ्नो आयुमा 1 लाख 96 हजार अमेरिकी डलर बराबरको काम गरेको हुन्छ। त्यसैले रुख रोप्नाले वातावरण संरक्षण गर्ने मात्र नभई आर्थिक दृष्टिकोण, जीवजन्तुको जीवन र समाज विकासका लागि निकै महत्वपूर्ण रहेको हुन्छ।

अहिलेसम्म विश्वमा वृक्षरोपण चाड मनाउने मुलुक पचासभन्दा बढी छन् र विभिन्न मुलुकमा यो चाडबारे केही रमाईला कथा रहेका छन्।

जापानको केही स्थानमा नव विवाहित पती-पत्नीले एउटा विरुवा रोप्नुपर्ने नियम छ। ती नव विवाहितहरुले रोपेको विरुवाको छेउमा नाम र विवाहको तारिख लेख्नुपर्ने चलन छ। इन्डोनेशियाको जाफा द्विपमा पहिलो पटक विवाह गर्ने पती-पत्नीले दुईटा विरुवा रोप्नुपर्ने र सम्बन्ध विच्छेद गर्दा पाँचवटा विरुवा रोप्नुपर्ने नियम छ।

नेपालमा वृक्षरोपणको कुनै चाड अथवा पर्व छ कि छैन?सीआरआई नेपाली सेवाको फेसबुक पेजमा हामी यस बारेमा थप छलफल गर्ने छौँ।

जानकारी तथा लेखहरु