|
|
|
|||||||||
|
||

नेपाल चीन संचार मन्चका अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा चीन भ्रमणमा आएको नेपाली पत्रकार तथा राजनीतिक व्यक्तिहरु सम्मिलित प्रतिनिधिमण्डलले आज शनिबार सीआरआईको अवलोकन भ्रमण गरेको छ। नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै सीआरआई दक्षिण एसिया केन्द्रका प्रमुख लो हुङपिङले चीन र नेपालबीचको मैत्री सम्बन्धलाई सीआरआईले जनस्तरसम्म पुर्याएको बताउनुभयो। उहाँले गत वर्ष नेपालमा भूकम्प जाँदा सीआरआईले विशेष रुपमा समाचार सम्प्रेषण गरेको र नेपालीहरुको पीडालाई आफ्नैजस्तो गरी आत्मबोध गरेको औँल्याउनुभयो।

सीआरआईसँग कुरा गर्दै चीनको विकास देखेर आफूलाई आश्चर्य लागेको प्रतिनिधिमन्डलमा सम्मिलित वरिष्ठ पत्रकार युवराज घिमिरेले बताउनुभयो। पूर्व संचारमन्त्री जेपी गुप्ताले चीनको आर्थिक विकासबाट नेपाललाई पनि धेरै हित पुगेको र चिनियाँ अनुभव नेपालका लागि अनुकूल रहेको बताउनुभयो। राजनीतिक नेता देवराज घिमिरेले चीनले अभियानको रुपमा अगाडि सारेको भ्रष्टाचार नियन्त्रण कार्यक्रम नेपालका लागि पनि अनुकरणीय रहेको बताउँदै चीनले आर्थिक विकाससँगै भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको बताउनुभयो।

नेपाली प्रतिनिधिमण्डल हिजो शुक्रबार चिनियाँ आर्थिक विकास र तेर्हौँ पन्चवर्षीय योजना सम्बन्धी एक गोष्ठीमा सहभागी भएको प्रतिनिधिमन्डलका नेता किशोर श्रेष्ठले बताउनुभयो। सो गोष्ठीमा चिनियाँ निजी तथा सार्वजनिक साझेदार केन्द्रका कार्यवाहक महानिर्देशक सियाओफिङ चियावोले चीनले अगाडि सारेको गरिबी निबारण र चिनियाँ अर्थतन्त्रको विकाससम्बन्धी व्याख्या र विश्लेषण गर्नु भएको थियो। चिनियाँ आर्थिक विकासले कसरी विश्वलाई सहयोग गरिरहेको छ भन्ने कुराको राम्ररी जानकारी पाएर नेपाली पत्रकारहरु लाभान्वित भएको पनि श्रेष्ठले बताउनुभयो।
नेपाली टोलीले तिब्बतीशास्त्र सम्बन्धी गोष्ठीमा पनि सहभागी हुनेछ। गत बिहीबार राति बेइजिङ आइपुगेको नेपाली पत्रकारहरुको टोली आगामी मङ्गल बेइजिङबाट छङ्तु प्रस्थान गर्नेछ।
शान्ति र विकासका लागि चिनियाँ आधार नामक संस्थाको निमन्त्रणामा चीन भ्रमणमा आएको प्रतिनिधिमण्डलमा नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरे, पूर्वमन्त्री जेपी गुप्ता, वर्तमान मुख्य सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य देवराज घिमिरे सहभागी हुनुहुन्छ। त्यसैगरी पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणि गौतम, नेपाल प्रेस काउन्सिलका अधिकृत झबिन्द्र भूषाल, महिला लेखिका अमृता लम्साल लगायत पत्रकारहरु सहभागी हुनुहुन्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||