फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आठ दिने भ्रमणका लागि नेपालका प्रधानमन्त्री पैचिङ्ग प्रस्थान

(GMT+08:00) 2016-03-20 15:17:21

        चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा 8 दिने चीनको औपचारिक भ्रमणका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी पैचिङ्ग प्रस्थान गर्नुभएको छ।

        भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री, अर्थमन्त्री, वाणिज्यमन्त्री, शिक्षामन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, उद्योगी–व्यापारी र केही पत्रकार रहेका छन्।

        चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ्गसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा चैत 8 गते सरिक हुनुहुनेछ। त्यसपछि आफ्ना समकक्षी लीसँग भेटवार्ता गर्ने र औपचारिक वार्तापछि दुई देशवीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यतालिका रहेको छ।

        चैत 8 गते नै प्रधानमन्त्री लीले प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा गर्ने दिवाभोजमा सरिक हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चङ्गशङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चैत 9 मा चीनका लागि नेपाली राजदूत डा महेश मास्केले पैचिङस्थित नेपाली दूतावासले गर्ने स्वागत भोजमा प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिमण्डल सरिक हुनेछ।

         प्रधानमन्त्री ओलीले हाईनान प्रान्तको पोआउमा हुने एसियाका लागि पोआउ मञ्चको 'एसियाको नयाँ भविष्यः नवीन आयाम, नवीन दृष्टिकोण' विषयक सम्मेलनलाई चैत 11 गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली चैत 14 गते स्वदेश फर्किने कार्यक्रम रहेको अन्नपूर्ण पोष्ट अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु