फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवन राष्ट्रिय निकुन्ज अर्ना र बाह्रसिङ्गेका लागि वासस्थान बनाउँदै

(GMT+08:00) 2016-03-27 14:24:29
एकसिङ्गे गैँडा र बाघका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गेका लागि वासस्थान तयारी तीव्र बनाइएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बाह्रसिङ्गे ल्याउने निर्णयसँगै यहाँ वासस्थानको व्यवस्थापनमा निकुञ्ज जुटेको अनलाइन खबरले लेखेको छ। निकुञ्जको बस्ती स्थानान्तरण गरिएको पदमपुर क्षेत्रमा ती जनावरका लागि उपयुक्त हुने भन्दै पानी र घाँसे मैदान व्यवस्थापनमा निकुञ्ज जुटेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, पहिले बस्ती हुँदा चुरेबाट झर्ने पानीका स्रोत बन्द भए पनि तिनीहरूलाई खुलाउने तयारी भएको छ। सो क्षेत्रमा प्रशस्त ताल तलैया भएकाले तिनीहरूको सरसफाइ र व्यवस्थापन गर्ने काम भइरहेको उहाँले बताउनुभयो। कतिपयमा ड्याम बनाएर पानीका पोखरी बनाउने तयारी निकुञ्जले गरेको छ। सोही क्षेत्रमा 20 हेक्टर हाराहारीमा घाँसे मैदान व्यवस्थापन गरिसकिएको छ भने थप घाँसे मैदानको व्यवस्थापन गर्ने तयारीमा निकुञ्ज जुटेको छ। बाघका लागि उर्वर बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जमा अर्ना, बाह्रसिङ्गेजस्ता जनावर ल्याउन सके बाघको आहारा बढ्ने र बाघ बस्ती पस्ने समस्यामा कमी आउने छ। नेपालमा कोसी टप्प वन्यजन्तु आरक्षमा सन् 2013 को गणनाअनुसार 327 वटा अर्ना रहेका छन्। यस वर्ष पुनः गणना हुँदैछ। कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्याम साहले स्थानान्तरणको विषयमा छलफल चलिरहेको बताए। कोसी टप्पु अर्ना र चरालाई प्रख्यात मानिन्छ। बाह्रसिङ्गे शुक्याफाँटामा दुई हजार 200 र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सयको हाराहारीमा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, हात्ती, जरायो, चित्त, लघुना, गौरीगाई, बँदेल, निलगाई जस्ता जनावरका साथै 265 प्रजातिका चरा, 64 प्रजातिका स्तनधारी, एक सयभन्दा बढी प्रजातिका घस्रने र उभयचर पाइन्छन्।
जानकारी तथा लेखहरु