फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पमा दिवंगतको सम्झनामा वसन्तपुरमा आज विशेष कार्यक्रम

(GMT+08:00) 2016-04-23 14:20:59

गत वर्षको विनासकारी भूकम्पमा दिवंगत भएकाहरूको सम्झनामा आज शनिबार काठमाडौँको वसन्तपुर दरबारस्क्वायरमा विशेष कार्यक्रम आयोजना हुँदैछ। गत वर्ष वैशाख 12 र वैशाख 29 गते गएका भूकम्पमा ज्यान गुमाएका साढे आठ हजारभन्दा बढीको आत्माले शान्ति पाओस् भनी वसन्तपुर दरबारस्क्वायरबाट अनन्त आकाशमा हजारौं बेलुन उडाउने कार्यक्रम रहेको जानकारी अन्नपूर्ण पत्रिकाले लेखेको छ।

दिवंगतहरूको सम्झना, सम्मान र शान्तिका लागि यस्तो कार्यक्रम राखिएको हो।अन्नपूर्ण पोस्ट् दैनिक, रेडियो अन्नपूर्ण, एपी वान टेलिभिजन र अन्नपूर्णपोस्ट् डटकमको सञ्चालक अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गर्ने 'एक दिवंगत आत्मा: एक बेलुन हातमा' कार्यक्रममा सबै धर्मका गुरु र प्रतिनिधि मुख्य अतिथि हुनेछन्।

बिहान 10 बजेदेखि कार्यक्रमस्थलमा सहभागी आउन सुरु हुने र भूकम्प गएकै समय ठ्याक्कै 11:56 मा एकसाथ नौ हजारभन्दा बढी बेलुन अनन्त आकाशमा उडाइने छ। कार्यक्रममा राजनीति, प्रशासन, कला, साहित्य, संस्कृति, न्याय, अर्थ, सुरक्षालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, कलाकार, खेलाडी, व्यवसायी, पेसाकर्मी तथा सर्वसाधारणको ठूलो सहभागिता रहनेछ।

हिन्दु धर्मबाट राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा माधव भट्टराई र विश्व हिन्दु महासंघ नेपालका पूर्वअध्यक्ष दामोदर गौतम, बौद्ध धर्मबाट भिक्षुणी डा. अनोजा र भिक्षु डा. चन्द्रकीर्ति महास्थवीर, क्रिस्चियन धर्मबाट बिसप पावल सिमिक र बिसप नारायण शर्मा, इस्लाम धर्मबाट इमाम मोहम्मद सनाउल्ला मदवी, जैन धर्मबाट डा. नमन उपाध्याय र बहाई धर्मबाट नरेन्द्र पाण्डेले बेलुन उडाएर कार्यक्रम उद्घाटन गर्नेछन्।

सहभागीले भूकम्पमा दिवंगत आफ्ना प्रियजन तथा आफन्तका लागि सन्देशसमेत लेख्ने व्यवस्था कार्यक्रममा हुनेछ।

जानकारी तथा लेखहरु