फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रमुख दाता राष्ट्र जापान आफैं अग्रसर भएर नेपालको भूकम्प पुनर्निर्माणमा

(GMT+08:00) 2016-04-25 15:33:04

पुनर्निर्माणको समग्र कार्य अत्यन्त सुस्त रहेको र अधिकांश दाता राष्ट्रले समेत आफ्नो काम प्रभावकारी बनाउन नसकेको अवस्थामा प्रमुख दाता राष्ट्र जापान भने आफैं अग्रसर भएर नेपालको पुनर्निर्माणमा साथ दिएको छ। गत वैशाख 12 मा गएको शक्तिशाली भूकम्पपछि राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि जापानले 26 करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । यो दाता राष्ट्रले भूकम्पले ध्वस्त पारेको तथा दैनिक जनजीवनसँग प्रत्यक्ष प्रभाव पार्ने विद्यालय, अस्पताल, सडक, खानेपानीजस्ता अत्यावश्यक क्षेत्रमा पुनर्निर्माणका काम अघि बढाएको अन्नपूर्ण पोष्ट अनलाईनले जनाएको छ।

भूकम्पपछि विद्यालय पुनर्निर्माणमा मात्र जापानले 11 अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने योजना बनाएको छ। यसमध्ये कतिपय रकम खर्च पनि भइसकेको छ । भूकम्प अतिप्रभावित धादिङ, गोरखालगायतका जिल्लामा भत्किएका विद्यालय जापानले पुनः बनाइदिसकेको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत अधिकांश काम अघि बढाइएको छ। जापानले मकवानपुर, नुवाकोट, रसुवा, ललितपुरलगायतका जिल्लामा ध्वस्त विद्यालय फेरि बनाउने काम गरिरहेको छ। विद्यालय पुनर्निर्माणको काममा एसियाली विकास बैंकको सहकार्यमा अघि बढेको छ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले असल छिमेकीको नाताले अप्ठेरो परेको अवस्थामा जापानले नेपाललाई हरेक हिसाबले सहयोग गर्नु कर्तव्य ठानेको बताउनुभयो। भूकम्पपछि प्रभावित क्षेत्रमा विद्यालय, अस्पताल, खानेपानी आयोजनालगायतमा जापानले द्रुत गतिमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो। भूकम्प गएको ठ्याक्कै एक वर्ष पुग्दा पीडितले घरटहरा बनाउन सकेका छैन । गाउँघरमा औषधि, खानेपानी र पोषणयुक्त खानाको अभाव छ। सहयोग रकम वास्तविक पीडितसम्म पुग्न सकेको छैन।

भूकम्प अतिप्रभावित जिल्लाका बासिन्दाको अझै त्रिपालमुनी धेरैका बास छ। भूकम्पले ध्वस्त बनाएका करिब 80 प्रतिशत विद्यालय पुनर्निर्माण हुन सकेको छैन। पुनर्निर्माण प्राधिकरणले पनि काम अघि बढाउन सकेको छैन। नेपालको महत्वपूर्ण दाता राष्ट्र जापानले विद्यालय, खानेपानी, स्वास्थ्य चौकी, सडक निर्माणलगायतका अत्यावश्यक क्षेत्रमा पुनर्निर्माणको काममा सहयोग गरेको छ। जाइकाको प्रत्यक्ष सहभागितामा कतिपय भूकम्प अतिप्रभावित जिल्लामा पुनर्निर्माणका महत्वपूर्ण काम सम्पन्न भइसकेको छ।

यसैगरी, गोरखा र सिन्धुपाल्चोक जिल्लामा विश्व बैंकको सहयोगमा जापानले नौ करोड 60 लाख अमेरिकी डलर खर्च गर्ने रणनीति बनाएको छ। यस शीर्षकमा अतिप्रभावित क्षेत्रका बासिन्दालाई आवासको व्यवस्था हुने जाइकाले जानकारी दिएको छ। अस्पताल, पुलगायतका सामाजिक सेवाका क्षेत्रमा जापानले तीन करोड 20 लाख अमेरिकी डलर खर्च गर्ने तयारी गरेको छ। वीर अस्पताल, परोपकार अस्पतालको स्तरोन्नति, उपकरण जडानलगायतमा खर्च गरिनेछ । यसैगरी, गोरखामा पुल बनाउन तथा सिन्धुपाल्चोकमा खानेपानी आयोजनामा पनि यो रकम उपयोग गरिँदैछ।

जाइकाले विशेषगरी धादिङ, सिन्धुपाल्चोक, गोरखा, नुवाकोटलगायतका जिल्लामा पुनर्निर्माणका काम अघि बढाएको छ। धादिङमा भत्किएका विद्यालय बनाएर पठनपाठन सुरू भइसकेको छ भने सिन्धुपाल्चोकमा भूकम्पले ध्वस्त पारेको खानेपानी आयोजना र महिला, बालबालिका भवनको निर्माण कार्य सुरू भएको छ। जापानले सरकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थाबाट सहयोग संकलन गरी एकमुष्टरूपमा नेपालको पुनर्निर्माणमा सहयोगी हात अघि बढाएको हो।

जानकारी तथा लेखहरु