फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्युत्तीय शवदाह गृहमा दैनिक एक दर्जनको अन्त्येष्टि

(GMT+08:00) 2016-04-30 17:34:10

गत माघ 10 गतेदेखि सञ्चालनमा आएको आर्यघाटको विद्युतीय शवदाह गृहमा यतिबेला दैनिक सरदर एक दर्जन लास जल्ने गरेका छन्। शवदाह गृहमा एक दिनमा बढीमा 24 वटासम्म लास आएको तथ्यांक पशुपति क्षेत्र विकास कोषले बताएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। कोषका अनुसार हालसम्म गृहमा एक हजार एक सय 75 वटा लास जलाइसकिएको छ।

कोषको गृहमा कार्यरत प्रशासकीय अधिकृत कुमार थापामगरले हाल सञ्चालनमा रहेको एउटा मेसिन दिनभर खालि नहुने बताउनुभयो। कुनै दिन 24 वटा लास आएकाले रातभर जलाउनुपरेको उहाँको भनाइ छ। गृहमा लोडसेडिङ नहुने गरी बिजुलीको व्यवस्था गरिएको छ।

'दाउरामा जलाउने संस्कार भएको समाजमा गृह सुरु गर्नुअघि लास नआउला कि भन्ने पनि लागेको थियो तर लास नआएको दिन छैन। एक दिन दिनभर लास आएन तर साँझ आठ बजे एउटा आयो', उहाँले भन्नुभयो, 'एउटा लास जल्न सरदर एक घन्टा लाग्छ तर विदेशबाट ल्याएका र चिस्यान केन्द्रमा राखेका लासलाई एक घन्टा 15 मिनेट पनि लागेको छ। अस्पतालबाट आउने लासलाई करिब एक घन्टा लाग्छ।'

कोषले गृहमै चिस्यानको व्यवस्था पनि गरेको छ। चिस्यानका लागि प्रतिदिन सात सय रुपैयाँ लाग्नेछ। कोषले 10 वर्षसम्मका लागि एक हजार पाँच सय रुपैयाँमात्र लाग्ने व्यवस्था गरेको छ। शव आएपछि दर्ता गर्ने काम हुन्छ।

मृतकका तर्फबाट आफन्त एकजनाले परिचय खुल्ने कागजातसहित 'विद्युतीय प्रणालीमार्फत शव संस्कार सेवा उपलब्ध गराई पाऊँ' भनी निवेदन दिनुपर्छ भने कम्तीमा दुईजना साक्षी बस्नुपर्छ। अस्पतालबाट ल्याएको अवस्थामा 'डेथ सर्टिफिकेट' पेस गर्नुपर्छ।

गृहमा दुईवटा मेसिन भए पनि एकपटकमा एउटामात्र सञ्चालन हुन्छ। मेसिन तात्न चारदेखि पाँच घन्टा लाग्ने र सेवा नियमित दिनुपर्ने भएकाले चौबीसै घन्टा खुला राखिएको छ।

कोषका निमित्त कार्यकारी निर्देशक प्रेमहरि ढुंगानाले लासको चाप बढेकाले तेस्रो मेसिन पनि जडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'सुरुमा लास नआउला कि भन्ने थियो अहिले कसरी व्यवस्थापन गर्ने भन्ने भइरहेको छ। तेस्रो मेसिन जडान गर्नेबारे परिषद्ले पास गरिसकेको छ। त्यो जोडेपछि दुईवटा मेसिनले निरन्तर काम गर्नेछन्।' कोषले एउटा मेसिनलाई एक करोड 60 लाख भारतीय रुपैयाँमा जडान गरेको हो।

जानकारी तथा लेखहरु