फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङहाइ तिब्बत रेलमार्गको दसौँ वार्षिकोत्सव

(GMT+08:00) 2016-06-29 16:34:42

यो वर्ष छिङहाइ तिब्बत रेलमार्ग संचालमा आएको दसौँ वार्षिकोत्सव हो। विगत एक दसकमा 2 हजार किलोमिटरको रेलवे लाइनले छिङहाइको सिनिङ र तिब्बतको ल्हासालाई जोडेको छ। यो कार्यले ती क्षेत्रका नागरिकको जीवनस्तरमा व्यापक परिवर्तन ल्याएको छ।

विश्वकै सबैभन्दा अग्लो भूभाग तथा सबैभन्दा लामो पठारभूमिमा संचालित रेलमार्ग सन् 2006 मा संचालनमा आएपछि तिब्बतको आर्थिक वृद्धिमा व्यापक परिवर्तन ल्याएको छ। तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारले जारी गरेको तथ्याङ्क अनुसार तिब्बतको सन् 2005 को कूल गार्हस्थ उत्पादन 25 अर्ब चिनियाँ युआन थियो भने सन् 2015 मा एक खर्ब युआन पुगेको छ। यो वार्षिक सरदर 10 प्रतिशतले वृद्धि भइरहेको छ।

तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाक्छु विकास तथा पुनर्संरचना आयोगका प्रमुख चोङ लिआङका अनुसार रेलवेले स्थानीय विकास र औद्योगिकीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ। उहाँ भन्नुहुन्छ 'छिङहाइ तिब्बत रेलवे लाइन खुला भएपछि स्थानीय पर्यटन उद्योगको विकाससँगै व्यापार र सेवा उद्योगको पनि विकास भएको छ। यी क्षेत्रका उद्योगधन्दाहरु तीब्र गतिमा विकसित हुँदै आएका छन्। गत वर्ष यी क्षेत्रको योगदान 5 अर्ब युआन पुगेको थियो जुन स्थानीय कूल गार्हस्थ उत्पादनको 60 प्रतिशतभन्दा बढी हो।'

छिङहाइ तिब्बत रेलमार्ग संचालनमा आएको तीन वर्षपछि नाक्छु मसलन्द केन्द्र निमार्ण भएको थियो। जसमा 23 करोड अमेरिकी डलर लगानी भएको थियो। यो केन्द्रले आवश्यक सामग्री आपूर्ति गर्ने मात्र नभएर यातायात र भन्डारणको कार्य पनि गर्दै आएको छ। स्थानीय उत्पादनको प्रशोधन र अन्य सेवालाई पनि यसले उचित ख्यालबिचार पुर्‍याउने गरेको छ।

चोङका अनुसार रेलवे सेवाको निर्माण र व्यवस्थापन केन्द्र दुवैको उद्देश्य स्थानीय मानिसको जीवनस्तर उकास्ने रहो छ। उहाँ भन्नुहुन्छ'यदि यहाँ छिङहाइ तिब्बत रेलमार्ग संचालनमा आएको थिएन भने यो व्यवस्थापन केन्द्र पनि हुने थिएन। यहाँ यो सामग्री आपूर्ति केन्द्र स्थापनामा आएर संचालन भएपछि परम्परागत रुपमा सामान ढुवानी भइरहेको प्रणालीमा व्यापक परिवर्तन भएको छ। नाक्छुबाट सामान बाहिर पठाउने र ल्याउने क्रम रेलवे सेवा संचालमा आएपछि सहज र सरल हुनुका साथै सस्तो पनि भएको छ। यसले स्थानीयको आर्थिक हैसियतमा विस्तार गराएको छ। सबैभन्दा धेरै ठूलो परिवर्तन र फाइदा स्थानीय पशुपालकहरुमा परेको छ। उनीहरुलाई चौरीको मासु र दूधबाट बनेका परिकार बेच्न सहज भएको छ।'

चोङले छिङहाइ तिब्बत रेलमार्ग खुलेपछि परम्परागत राजमार्गबाट भइरहेको सामान ढुवानीलाई कटौती नगरिएको पनि थप्नुभयो। सन् 2015 मा नाक्छु राजमार्गबाट भएको सामान ढुवानीको मात्रा 680 हजार टन पुगेको छ जुन वार्षिक 10 प्रतिशतले बढिरहेको छ। छिङहाइ तिब्बत रेलमार्गले रोजगारीमा पनि वृद्धि ल्याएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो'जब रेलमार्ग संचालनमा आयो नाक्छुमा रोजगारी दर उच्च गतिमा बढ्यो। सन् 2015 मा दुई हजारभन्दा बढीले रोजगारी पाएका छन् जुन 5 प्रतिशतले वृद्धि भएको हो। छिङहाइ तिब्बत रेलमार्ग सन् 2001 मा निर्माण सुरु भएको थियो। यसका लागि 28 दशमलव 5 बिलियन युआन लगानी भएको छ।'

विश्वको छानो भनेर चिनिएको तिब्बतमा बनेको रेलमार्ग विश्वकै सबैभन्दा उच्च भूभागमा रहेको रेलमार्ग हो। यो रेलमार्गको 550 किलोमिटर भाग समुद्री सतहदेखि 5 हजार 100 मिटर उचाइमा रहेको छ। यो भूभाग सधैँजस्तो बरफ जमिरहने भएकाले यसलाई जमेको पृथ्वी पनि भनिन्छ। छिङहाइ तिब्बत रेलमार्ग सन् 2006 को जुलाइ 1 तारिख संचालनमा आएको हो।

जानकारी तथा लेखहरु