फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा घरजग्गा राजस्व लक्ष्यभन्दा कम सङ्कलन

(GMT+08:00) 2016-07-29 18:02:02

       गत आर्थिक वर्षमा नेपालले लक्ष्यअनुसार राजस्व संकलन गरे पनि क्षेत्रगत रूपमा भने घरजग्गा कारोबारबाट अपेक्षाअनुसार संकलन नभएको देखिएको छ। अघिल्ला 4 वर्षमा निरन्तर लक्ष्यभन्दा बढी संकलन हुँदै आएको घरजग्गा कारोबार राजस्व गत आवमा भने लक्ष्यभन्दा केही न्यून परिमाणमा संकलन भएको कारोबार अनलाइनले लेखेको छ।

        भूकम्पपछिको आर्थिक मन्दी एवं नाकाबन्दी र तराईका जिल्लामा भएको बन्द हड्तालका कारण लामो समयसम्म घरजग्गा कारोबार ठप्प भएपछि गत आवमा राजस्व संकलन न्यून भएको हो। गत आवमा घरजग्गा कारोबारबापत संकलन हुने राजस्वको लक्ष्य 12 अर्ब 11 करोड रुपैयाँ रहेकोमा 11 अर्ब 36 करोड रुपैयाँ संकलन भएको भूमिसुधार तथा व्यवस्था विभागले जनाएको छ।

        विभागका अनुसार अघिल्लो आवमा 5 अर्ब 38 करोड रुपैयाँ रजिस्ट्रेसन दस्तुर संकलन गर्ने लक्ष्य लिएकोमा 10 अर्ब 28 रुपैयाँ संकलन भएको थियो। यो लक्ष्यभन्दा झन्डै दोब्बर थियो। अघिल्ला आवको तुलनामा गत आवमा संकलन भएको राजस्व लक्ष्यनजिक रहेको विभागका योजना शाखा अधिकृत उर्मा शर्माले बताउनुभयो। उहाँका अनुसार संविधान जारी भएपछि लामो समयसम्म भएको तराई बन्दका कारण घरजग्गा कारोबारमा कमी आउँदा गत आवमा लक्ष्य भेटाउन मुस्किल परेको हो। "मधेसी मोर्चाले गरेको बन्द–हड्तालले 6 महिनासम्म तराईका मुख्य जिल्लामा कारोबार ठप्प हुँदा गत आवमा लक्ष्यअनुसार राजस्व संकलन मुस्किल परेको हो," उहाँले भन्नुभयो "वैशाखसम्मको अवस्थाअनुसार लक्ष्यअनुसार राजस्व संकलन नहुने देखिएको थियो, तर जेठ असारमा महिनामा मात्र भएको घरजग्गा कारोबारले भने लक्ष्य पुर्‍याउन सकेको छ।" मधेसी मोर्चाले गरेको बन्दका कारण तराईका 8 वटा जिल्लामा करिब 5 महिनासम्म कुनै पनि मालपोत कार्यालय खुल्नसमेत नसक्दा राजस्वमा कमी आएको उहाँको भनाइ छ।

         राजधानी पछि सबैभन्दा बढी घरजग्गा रजिस्ट्रेसन दस्तुर संलकन हुने तराईका जिल्ला भएको विभागको तथ्यांकमा उल्लेख छ। यी जिल्लामा नियमित घरजग्गा कारोबार भएको भए लक्ष्यभन्दा 30 प्रतिशतभन्दा बढी राजस्व संकलन हुने विभागको अनुमान थियो। तर, अझै विवरण आउन बाँकी भएका कारण लक्ष्यभन्दा केही बढी संकलन हुने शर्माले जानकारी दिनुभयो।

 

जानकारी तथा लेखहरु