फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँगको सम्झौता उल्टाएमा प्रतिवाद हुने नेपालका प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2016-07-30 15:19:36

       नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएका सम्झौता उल्ट्याउने प्रयास आगामी सरकारले गरेमा त्यसविरुद्ध आफू लागिपर्ने चेतावनी दिनु भएको छ। कुनै पनि विदेशी मुलुकको नाजायज स्वार्थ नेपालले मान्नुपर्छ भन्ने अस्वीकार्य हुने बताउँदै प्रधानमन्त्री ओलीले छिमेकी तथा विदेशी मुलुकले नेपालको राष्ट्रिय स्वार्थविरुद्ध जान खोजे त्यसको सशक्त प्रतिवाद हुने चेतावनीसमेत दिनु भएको अन्नपूर्ण पोष्टले लेखेको छ।

        मदन भण्डारी फाउन्डेसनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले भन्नुभयो, 'अहिले हाम्रो मुलुकमा विचित्रको स्थिति छ। विदेशीले यसो गर उसो गर भन्छन्। म भन्छु हाम्रा मित्रहरूले मित्रको स्थानमा बसेर हामीसँग व्यवहार गरून्। छौंडा खेलाएर रातदिन दुःख दिने होइन। अत्यन्तै बेठीक तरिका हो त्यो।'

        दक्षिणी छिमेकी भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको तर्फ प्रधानमन्त्री ओलीको आक्रोश थियो। उहाँले स्वतन्त्र देशका हिसाबले चीनसँग भएका सम्झौतामा अब बन्ने सरकारले जे पायो त्यही गर्न नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'सरकार सचेत जनताको घेरामा हुनेछ। सरकार चल्ने त नेपालमै हो। बाहिर गएर सरकार चल्ने त होइन होला नि ? नयाँ पिँढी यसरी जागेको छ, तलमाथि गर्न सकिने सम्भावना छैन।'

        प्रधानमन्त्री ओलीले कुनै पनि विदेशी मुलुकले आफ्ना स्वार्थ र मान्यता लाद्ने कोसिस गरे नेपाललाई त्यो सधैं अमान्य हुनेसमेत बताउनुभयो। 'यहाँ कसै (विदेशी मुलुक) लाई हिन्दुत्व नभई नभएको अवस्था छ। कसैलाई यहाँ धर्मनिरपेक्षता हुनैपर्छ भनिएको छ। तर धर्म र मान्यताबारे नेपाली जनताले निर्णय गर्ने हो, कुनै विदेशीले होइन', उहाँले भन्नुभयो, 'अरूले दबाब दिएर हुन्छ नेपालीले कुन आस्था, धर्ममा विश्वास गर्ने भन्ने कुरा ? किन कोही कस्सिनुपर्‌यो ? बरु जेजे गर्नुछ बहादुरीका साथ आफ्नो देशमा गर्नुस् न। हामी हाम्रो देशमा गर्छौं।'

        नेपालले चीन र भारत दुवै छिमेकीसँग राम्रो र मित्रतापूर्ण सम्बन्ध राख्न चाहेको उहाँले बताउनुभयो। 'हाम्रो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र आन्तरिक मामिलामा आफैंले निर्णय गर्ने अधिकार, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरू, स्वाभिमान यत्तिलाई हामी ध्यानमा राख्छौं। यत्ति कुरा छिमेकीबाट मानियोस्, सम्मान गरियोस् भनिएको हो', उहाँले भन्नुभयो।

         प्रधानमन्त्री ओलीले कुनै विदेशी मुलुकसँग झगडा र वैरभाव राख्नु नेपालको चाहना नरहेको बताउनुभयो। वर्तमान सरकार विदेशी हस्तक्षेपको सिकार भएको उहाँको भनाइ थियो।

         प्रधानमन्त्रीले नेपाललाई आफ्नो भौगोलिक अवस्थिति 'जियोपोलिटिक्स' राम्रोसँग थाहा रहेको समेत बताउनुभयो। 'नेपाललाई थाहा छैन र उत्तरमा चीन, दक्षिणमा भारत छ भन्ने कुरा ? जियोपोलिटिक्सका नाउँमा राइट टर्न भन्दा राइट टर्न गर्नुपर्ने, लेफ्ट टर्न भन्दा लेफ्ट टर्न गर्नुपर्ने जियोपोलिटिक्स हो? ससाना व्यवस्थापनका पक्षहरूमा निर्णयहरूमा राष्ट्रको स्वाधीनता अन्डरमाइन गर्दा चुप लाग्ने, आफैंले सार्वभौम निर्णय गर्छु भन्न नपाउने जियोपोलिटिक्स हुन्छ?' भूराजनीतिका नाउँमा हुने गरेको विदेशी हस्तक्षेपलाई लिएर हुने गरेका टिप्पणीतर्फ उहाँले भन्नुभयो।

         प्रधानमन्त्री ओलीले छिमेकी देशमध्ये कुनसँग बाटो जोड्ने/नजोड्ने नेपाल आफैंले निर्णय गर्ने विषय भएको बताउनुभयो। 'दुईवटा छिमेकी छन्। दुवैतिर बाटो जोड्नुपर्छ। दुवैतिर व्यापार गर्नुपर्छ। अनि यसो गर्दा हाम्रो भूगोल बुझिएन भन्ने ?

         जियोपोलिटिक्स बुझ्ने भनेको एकातिर बाटो बनाउन हुन्छ, अर्कोतिर हुँदैन भन्ने हो। दुईवटा छिमेकी छन्, दुईतिरै सम्पर्क गर्ने हो। दुईवटैसँग विशेष, निकट, मित्रतापूर्ण र देशका लागि फाइदा हुने सम्बन्ध विकास गर्ने हो', उहाँले भन्नुभयो। भारतीय सञ्चारमाध्यमले चीनसँग पारवहन सम्झौता भएपछि नेपाल भारतको हातबाट चीनतिर फुत्कियो भन्ने टिप्पणी गरेकोमा समेत उहाँले आक्रोश पोख्नुभयो। 'यसबीचमा बहुतै स्पष्टताका साथ मलाई भारतसँगको सम्बन्ध बिगारेको पनि भनियो। म प्रधानमन्त्री हुँदा तराईमा आगो बलिरहेको थियो। 4 दर्जन मानिस, सुरक्षाकर्मी, राजनीतिक कार्यकर्ता र सर्वसाधारण मारिने क्रम थियो। नाकाबन्दी थियो। नाकाबन्दीको कुरा सम्झिनु। त्यसलाई सामन्ती राष्ट्रवाद भन्ने विद्वान् पनि छन्। कसैका जायज स्वार्थलाई बेवास्ता गरिन्न। नेपालको नीति यही हो', उहाँले भन्नुभयो।

          कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरूबीच सहमति गरी नेपालले विदेश नीतिबारे साझा दस्ताबेज ल्याएर कार्यान्वयन गर्नुपर्ने बताए।

 

जानकारी तथा लेखहरु