फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजदूत सुनुवाइ प्रक्रिया आइतबारबाट सुरु हुने

(GMT+08:00) 2016-07-30 15:20:11

         संसदीय सुनुवाइ विशेष समितिले गत वैशाखमा सिफारिस भएका 22 देशका राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको छ। सरकार परिवर्तनसँगै अन्योल बढिरहेका बेला समितिले आइतबारबाट सुनुवाइ सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको नागरिक दैनिकले लेखेको छ।

        पहिलो चरणमा समितिले सिफारिसमा परेका व्यक्तिविरुद्ध दर्ता भएका उजुरी खोल्ने निर्णय गरेको छ। समितिले शुक्रबार उनीहरूको उजुरीसम्बन्धी प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतको प्रधानन्यायाधीश, न्यायाधीश, निर्वाचन आयोगको प्रमुख आयुक्तको सुनुवाइ गरिसकेको समितिले तेस्रो चरणमा विभिन्न देशका लागि सिफारिस राजदूतको सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो।

         समितिले उनीहरुविरुद्ध दर्ता भएका उजुरी वितरण गर्ने र त्यसको अध्ययनपछि सुनुवाइ गर्ने जनाएको छ। समितिका सचिव धुव्रप्रसाद घिमिरेले जारी गरेको सूचनामा सुनुवाइ भइसकेका सर्वोच्च अदालतका स्थायी न्यायाधीशको अनुमोदनसम्बन्धी निर्णयपछि राजदूतविरुद्ध दर्ता उजुरीको छानबिन थाल्ने उल्लेख छ। सरकारले राजदूत नियुक्तिका लागि वैशाख 7 गते सिफारिस गरेको थियो। जसमा कूटनीतिक सेवा (परराष्ट्र) बाट 8 र विभिन्न राजनीतिक दलको भागबन्डाका आधारमा 14 जना थिए।

         सरकारले आफ्ना प्रतिनिधिलाई राजदूत सिफारिस गर्ने परम्पराका कारण सत्ता समीकरण परिवर्तनसँगै सिफारिस भएका नाम रोकिने अनुमान गरिएको थियो।

         सरकारले सिफारिस गरेका व्यक्तिमा परराष्ट्र सेवाबाट वरिष्ठताका आधारमा 8 जना सहसचिवका सँगै विभिन्न पार्टीको जिम्मेवार पदमा रहेका व्यक्ति र तीनजना पूर्वमन्त्रीसमेत थिए। दूतावास नै नखोलेको देश अस्ट्रियाका लागि समेत राजदूत सिफारिस गरिएको छ। जसमा परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिवहरू दुर्गाबहादुर सुवेदी, रमेश खनाल, झविन्द्र अर्याल, लोकबहादुर थापा, प्रकाश सुवेदी, सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल र ऋषि घिमिरे छन्। उनीहरू क्रमशः बेलायत, जर्मनी, इजिप्ट, बेल्जियम, अस्ट्रिया, पाकिस्तान, ब्राजिल र म्यानमारका लागि राजदूत सिफारिस भएका हुन्।

         त्यसैगरी राजनीतिक भागबन्डामा परेका 14 राजदूतमध्ये नेकपा एमालेबाट 6 जना, एकीकृत नेकपा माओवादीबाट 4, राप्रपा नेपालबाट 3 जना र फोरम लोकतान्त्रिकवाट 1 जना थिए। एमालेको कोटाबाट राजदूत सिफारिस भएकामा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, प्राध्यापक नारद भारद्वाज, केन्द्रीय सदस्य शिवमाया तुम्बाहाम्फे, पूर्वविदेश विभाग सदस्य खड्ग केसी र इन्जिनियर अलि अख्तर मिकरानी थिए। उनीहरू क्रमशः चीन, दक्षिण कोरिया, श्रीलंका, इजरायल, जापान र साउदी अरबका लागि राजदूत सिफारिस भएका हुन्।

         माओवादी कोटाबाट सिफारिस भएकोमा दोस्रो संविधानसभा निर्वाचनअघि एमालेबाट माओवादी प्रवेश गरेकी पूर्वसभासद लक्की शेर्पा, राइजिङ नेपालका प्रधानसम्पादक युवनाथ लम्साल, दलित आन्दोलनकर्मी पदम सुन्दास र प्राध्यापक महेन्द्र सिंह छन्। उनीहरू क्रमशः अस्ट्रेलिया, डेनमार्क, बहराइन र कतारका लागि सिफारिस भएका हुन्। यस्तै, राप्रपा नेपालबाट पूर्व गृहराज्यमन्त्री तथा कानुनमन्त्री निरञ्जन थापा, केन्द्रीय सदस्य तथा पूर्वजर्नेल भरतबहादुर रायमाझी र अर्का केन्द्रीय सदस्य तथा पूर्व शिक्षासचिव खगेन्द्र बस्नेतको नाम पनि राजदूतका लागि सिफारिस भएको थियो। उनीहरू क्रमशः रुस, युएई र बंगलादेशका लागि सिफारिस भएका हुन्। फोरम लोकतान्त्रिकवाट म्यानपावर व्यवासायी शर्मिला ढकाल पराजुली सिफारिस भएकी थिइन्।

जानकारी तथा लेखहरु