फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पमा ध्वस्त भएका नेपाली सांस्कृतिक सम्पदाको पुननिर्माणमा चीनले सघाउने

(GMT+08:00) 2016-08-25 17:05:48
गत वर्ष भूकम्पले क्षतिग्रस्त बनाएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको जिर्णोद्वार र पुननिर्माण गर्न चीनले सहयोग गर्ने भएको छ। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार छिमेकी चीनले नेपालका प्रमुख सम्पदाको जीर्णोद्धार वा पुनर्निर्माणका लागि अग्रसरता देखाएको कान्तिपुर दैनिकले लेखेको छ। चीनले वसन्तपुरको नौतले दरबार (चार बुर्जा), नुवाकोटको साततले दरबार, तलेजु मन्दिर, गारथ घर, रंगमहललगायत जीर्णोद्धार गर्ने भएको हो। यसबारे अर्थ मन्त्रालयसँग सम्झौता भइसकेको छ। यसबारेको आर्थिक प्रस्ताव दुई महिनादेखि अर्थ मन्त्रालयमा अड्किएको छ। यो योजनाको बजेटबारे अहिले आकलन गरिएको छैन।

यसैगरी पशुपति मन्दिर परिसरका 25 भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जीर्णोद्धार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिन सरोकार निकायमा सहमति जुटेको छ। पुरातत्त्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो। त्यसअनुसार झन्डै 1 अर्ब 40 करोड रुपैयाँ बराबर खर्च हुने भनिएको पशुपति क्षेत्रको सम्पदा जीर्णोद्धार प्रक्रिया अघि बढाउन अब अर्थ र परराष्ट्र मन्त्रालयले तदारुकता देखाउनुपर्ने छ। पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार यो जीर्णोद्धार योजनाभित्र पशुपतिनाथको मुख्य मन्दिर भने समावेश गरिएको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई वर्षअघि पशुपतिनाथ भ्रमणमा आएका बेला यो क्षेत्रको विकासमा दिने भनिएको 25 करोड रुपैयाँको सहयोग राशिसमेत अब कार्यान्वयनमा आउने योजनामा खर्च गरिने जनाइएको छ।

जीर्णोद्धारसम्बन्धी कूटनीतिक र आर्थिक सहमतिका प्रक्रिया टुंगो लाग्नासाथै भदौ अन्तिम साता हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण क्रममा अन्तिम सम्झौता हुन सक्ने पुरातत्त्वका एक अधिकारीले बताए। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति परिसरका बासुकी मन्दिर, कोटी लिंगेश्वर, कुलानन्द झा सत्तल, सप्तमी सत्तल, महास्नान घरसहितका सम्पदा जीर्णोद्धार गरिनेछन्। भूकम्प अघि र पछिका सम्पदाको जीर्णोद्धार लेखाजोखा गर्दा यसको लागत 2 अर्ब रुपैयाँभन्दा बढी हुन सक्नेबारे पनि छलफल चलिरहेको उहाँले बताउनुभयो।

यसबाहेक काठमाडौंको सेतो मच्छिन्द्रनाथ, पाटनको भीमसेन मन्दिर तथा पाटनकै अदालत भवन पुनर्निर्माण गर्न भारतलाई दिनेबारे सहमति बनेको छ। यसबारे पनि आधिकारिक सहमति पत्रमा चाँडै हस्ताक्षर हुने भएको छ। श्रीलंकाले पनि बुङमतीस्थित रातो मच्छिन्द्रनाथको जीर्णोद्धार र स्वयम्भूको आनन्दकुटी बिहार जीर्णोद्धार गर्ने सहमति जुटेको छ। रातो मच्छिन्द्रनाथका लागि 5 करोड र आनन्दकुटी बिहारका लागि 20 करोड रुपैयाँ खर्चने भनेर निर्णय आइसकेको महानिर्देशक दाहालले जानकारी दिनुभयो। यी दुवै काम पुरातत्त्व विभागको सुपरिवेक्षणमा कार्यान्वयन हुँदैछ। अर्को विश्व सम्पदा क्षेत्र चाँगुनारायणमा रहेको सत्तलसहित तिलेश्वर महादेव तथा पुजारी मठलाई पुरानै सम्पदा स्वरूपमा पुनर्निर्माण गर्न जर्मनी सरकार सहमत भएको छ।

जर्मनीले भूकम्पमा क्षति बेहोर्ने भक्तपुर क्षेत्रका 6 वटा सरकारी स्कुल समेतको पुनर्निर्माण गरिदिने भएको छ। स्विस सरकारले पनि साँखुको एउटा सत्तलसहित दोलखाको त्रिपुरासुन्दरीको मन्दिर जीर्णोद्धारमा चासो देखाएको छ। तर, यसबारे अर्थ मन्त्रालयबाट सहमति आउन बाँकी छ। अमेरिकी सरकारअन्तर्गत राजदूतका नाममा रहेको सम्पदा संरक्षण कोषले बागेश्वरी मन्दिर (तलेजु अगाडि), कृष्ण मन्दिर, शंकरनारायण, चारनारायण, भाइदेगलगायत सम्पदा जीर्णोद्धारका लागि अनुमति पाइसकेको छ।

हनुमानढोकाको गद्दी बैठक जीर्णोद्धारमा जापानी विज्ञ एवं परामर्शदाता मियामोतोले अध्ययन गरिरहेका छन्। यसमा जापानले सहयोग गर्ने भएको छ। 'हामीले भूकम्पका कारण संकटमा परेका वा क्षतिग्रस्त मुख्य प्रभावित 14 जिल्लाका सम्पदाको पहिचान गरेका छौं,' महानिर्देशक दाहालले भन्नुभयो, 'हामीले विभिन्न 1 सय 45 सम्पदा जीर्णोद्धार वा पुनर्निर्माणमा स्वीकृति तथा सहमतिका लागि पुनर्निर्माण प्राधिकरणमा प्रस्ताव पठाएको धेरै भइसकेको छ। तर अन्तिम निर्णय आउन सकेको छैन।' यो कामका लागि 2 अर्ब 40 करोड रुपैयाँ बजेटको माग गरिएको समेत दाहालले जानकारी दिनुभयो।  

जानकारी तथा लेखहरु