फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली गुणस्तरीय सिमेन्टका कारण भारतीय सिमेन्ट विस्थापित हुँदै

(GMT+08:00) 2016-08-25 17:08:53

नेपालमै गुणस्तरीय सिमेन्टको उत्पादन हुन थालेपछि बाँकेमा पछिल्लो समय भारतीय सिमेन्टको आयात ठूलो मात्रामा घटेको छ। यससँगै नेपाली सिमेन्टको बिक्री बढेको कारोबार अनलाइनले लेखेको छ।

केही समय पहिलेसम्म भारतीय सिमेन्टमा मात्र निर्भर रहँदै आएको मध्यपश्चिमको सीमावर्ती जिल्ला बाँकेमा अहिले भारतीय सिमेन्ट पाइन छाडेको छ। विभिन्न ब्रान्डका नेपाली सिमेन्टले बजार लिँदै गएपछि भारतीय सिमेन्टको बिक्री घट्दै गएको हो।

ठूला–ठूला सरकारी संरचना निर्माणका लागि ठेक्का लिने निर्माण कम्पनीले नेपाली सिमेन्ट गुणस्तर नभएको भन्दै आएकामा अहिले नेपाली सिमेन्ट नै प्रयोग गर्न थालेका छन्। यसका साथै निजी घरहरू निर्माण गर्ने उपभोक्ताहरूले पनि भारतीय सिमेन्टको स्थानमा नेपाली सिमेन्टनै मन पराउन थालेपछि भारतीय सिमेन्ट विस्थापित हुँदै गएको व्यवसायीले बताएका छ।

बाँकेलाई केन्द्र बनाएर सिमेन्ट उत्पादन गरिरहेका कम्पनीहरूले मध्य र सुदूरपश्चिममा धमाधम आफ्ना उत्पादनहरू बिक्री गरिरहेका छन्। त्यति मात्र नभई बाँकेलगायत मध्यपश्चिमका विभिन्न जिल्लामा सिमेन्ट उद्योगहरू पनि खुल्ने क्रम बढेको छ।

बाँकेको गनापुरमा सञ्चालनमा रहेको जय मंगलम सिमेन्ट उद्योग प्रालिले भारतीय सिमेन्टसँग लामो समयसम्म प्रतिस्पर्धा गर्नु पर्‍यो। भारतीय सिमेन्टको आयातकै कारण धेरै समयसम्म संघर्ष गर्नुपरेको सो उद्योगले हाल आएर आफ्नो उत्पादनलाई स्थापित गर्न सफल भएको छ।

उक्त उद्योगले यती स्टार ब्रान्डका सिमेन्टहरू उत्पादन गरी स्थानीय बजारमा बिक्री गरिरहेको जनाउँदै उद्योगका सञ्चालक सतिश अग्रवालले भारतीय सिमेन्टलाई विस्थापित गर्न सकिएको बताउनुभयो। उहाँले यसका लागि आफूले सरकार र सरकारी ठेकेदारसँगै लामो संघर्ष गर्नु परेको जनाउनुभयो। योबाहेक अन्य नेपाली उत्पादनका सिमेन्टहरूले पनि क्रमशः बजार लिँदै गएको उहाँले बताउनुभयो।

हाल दैनिक 450 टन सिमेन्ट उत्पादन क्षमताको प्लान्ट सञ्चालनमा ल्याएको सो उद्योगले निकट भविष्यमा दैनिक 9 सय टन सिमेन्ट उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको उद्योगका प्रबन्ध निर्देशक निशान्त चाचानले बताउनुभयो।

मध्य तराईको वीरगन्जमा एक दशक अघिदेखि सिमेन्ट उद्योग स्थापना गरेर त्रिशक्ति ब्रान्ड सिमेन्ट उत्पादन गर्दै आएको चाचान गु्रपले बाँकेमा जय बागेश्वरी सिमेन्टस् उद्योगको स्थापना गरेको हो। पछिल्लो समयमा स्थानीय उपभोक्ताले पनि नेपाली सिमेन्टनै प्रयोग गर्न थालेपछि अहिले गाउँ–गाउँमा नेपाली सिमेन्टका पसलहरू खुलेको नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो।

"स्वदेशी सिमेन्ट आएपछि भारतीय सिमेन्ट आयात हुने क्रम धेरै कम भएको छ," उहाँले भन्नुभयो, "तर अझै पूर्णरूपमा समाप्त भएको छैन।" उहाँका अनुसार ठूला–ठूला विकास निर्माणदेखि घरहरूसमेत धमाधम निर्माण भइरहेका कारण यो क्षेत्र सिमेन्टको बजारका लागि आकर्षक मानिएको छ। बसाइ–सराई बढ्दै गएकाले तथा ठूला–ठूला विकासे आयोजनाका कारण अहिले यस क्षेत्रमा सिमेन्टको माग बढ्दै गएको उद्योग वाणिज्य संघको ठहर छ।

संघको अनुमानमा बाँकेमा मात्रै हरेक महिना 1 अर्ब रुपैयाँको सिमेन्ट खपत हुन्छ। बिक्री बढ्दै जाँदा थप उद्योग खुल्ने क्रम पनि सुरु भएको छ। यसका साथै दाङका दुइटा सिमेन्ट उद्योग, कपिलवस्तुको सिमेन्ट उद्योग र नेपालका अन्य सहरका उद्योगका सिमेन्ट यहाँ बिक्री हुँदै आएका छन्।

नेपालगन्जमा 2 अर्ब रुपैयाँ लगानीको जमुनाह–कोहलपुर सडकलाई फोर लेनको बनाउने काम सम्पन्न हुन थालेको छ। करिब एक अर्बको लगानीमा नेपालगन्ज एकीकृत सहरी योजनासमेत सञ्चालनमा छ। यस्तै देशकै सबैभन्दा ठूलो सिँचाइ आयोजना सिक्टा सिँचाइ आयोजनाको काम पनि भइरहेको छ। हुलाकी सडक पनि निर्माणाधीन अवस्थामा छ भने भेरी बबई डाइभर्सन आयोजनालगायत तारे स्तरका होटलहरूसमेत निर्माण भइरहेकाले सिमेन्टको माग बढ्दै गएको हो।

जानकारी तथा लेखहरु