भाद्र कृष्ण औँसीका दिन बिहीबार पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँको मुख हेरेर मनाउँदैछन्। बुबाको मुख हेरेपछि मिठाइ, फलफूल, कपडा आदि उपहार दिने चलन छ। टाढा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरेर पनि बुबाको मुख हेर्ने गरिन्छ।
भौतिक रूपमा बिदा भइसकेका पिताहरूलाई भने छोराछोरीले तस्बिर हेरेर वा विभिन्न शक्तिपीठ, देवालयमा गई दान गर्ने परम्परा छ। औँसीको दिनलाई शास्त्रमा पितृको दिन मानिन्छ। पिता नहुनेहरूले गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई पितृका नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्ने गर्छन्।
ज्योतिष डा. सुनील सिटौलाका अनुसार, यसै दिन घर डेरामा कुश भित्र्याउने चलन छ। स्वर्गका राजा इन्द्रले भगवान् विष्णुलाई स्वर्गबाट कुश दिएको दिनको रूपमा संस्मरण गर्दै यस दिन कुश भित्र्याउने चलन छ। तुलसी, कुश र शालीग्रामलाई विष्णुको प्रतीक मानिन्छ। भाद्र कृष्ण औँसीका दिन काटिएको कुश एक वर्ष, अन्य औँसीमा काटिएको कुश एक महिना र अन्य दिन काटिएको कुश सोही दिनका लागि मात्र धार्मिक कार्यमा काम लाग्छन् भन्ने मान्यता छ ।
यसैबीच राष्ट्रिय विभूति, नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक मोतीराम भट्टको 150 औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं 1923 साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं 1953 साल भाद्र कृष्ण कुशे औँसीकै दिन 30 वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए।