फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनसंख्याका अनुपातमा विदेशिने नागरिकको मुलुकमा नेपाल दोस्रो

(GMT+08:00) 2016-09-28 15:59:05

नेपाल जनसंख्याको अनुपातमा धेरै नागरिक श्रमका लागि विदेशिने मुलुकमा दोस्रो स्थानमा देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

विप्रेषण (रेमिट्यान्स) रकम धेरै भित्र्याउने मुलकुमा नेपाल विश्वमा 23 औं स्थानमा छ। राष्ट्र बैंककाअनुसार 2050/51 देखि 2071/72 सम्म कामको खोजीमा मुलुकबाहिर गएका 39 लाख 27 हजार कामदार सङ्ख्याको नेपालको कुल जनसङ्ख्यासँगको अनुपात करिब 14 प्रतिशत हुन आउँछ। यो जनसंख्याका आधारमा श्रमका लागि बाहिरिने नागरिकको अनुपात धेरै हुने राष्ट्रमा दोस्रो स्थानमा हो। जनसंख्याका आधारमा श्रमको खोजीमा विदेशिनेमा विश्वमा लेवनानको स्थान पहिलो रहेको अनलाइनखबरले लेखेको छ। साथै कुल गार्हस्थ्य उत्पादनसँग रेमिट्यान्स आप्रवाहको अनुपातको हिसाबले नेपाल विश्वमा तेस्रो स्थानमा छ।

आर्थिक वर्ष 2050/51 मा विप्रेषण आप्रवाह 2 अर्ब 15 करोड थियो। तर, अहिले यो बढेर 2071/72 मा 6 खर्ब 17 अर्ब रुपैयाँ पुगेको छ। जसको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात 29 प्रतिशत हुन आउँछ।

अध्ययनले नेपालीले पठाउने गरेको वार्षिक औसत विप्रेषण 5 लाख 32 हजार रहेको देखाएको छ। यो रकमलाई मासिक रूपमा प्रस्तुत गर्दा 44 हजार 3 सय 33 रुपैयाँ हुन आउँछ, जुन औसत नेपालीको लागि आकर्षक रकम हो।

अध्ययनले 90.9 प्रतिशत विप्रेषण रेमिट कम्पनी लगायत बैंक तथा वित्तीय संस्थाबाट र 5.9 प्रतिशत हुण्डी मार्फत नेपाल भित्रिने देखाएको छ।

वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरू मध्ये खाडी मुलुकहरूमा 56.9 प्रतिशत, मलेसियामा 26.6 प्रतिशत, विकसित मुलुकतर्फ 8.1 प्रतिशत र भारतमा 4.4 प्रतिशत नेपालीहरू कामको खोजीमा जाने गरेको अध्ययनले देखाएको छ।

जानकारी तथा लेखहरु