फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन–नेपाल लेखनवृत्ति साझेदारी

(GMT+08:00) 2016-09-28 16:00:03

चीनको बेइजिङ पब्लिसिङ ग्रुप मातहतको अक्टोबर लिटरेचर एकेडेमी तथा नेपालस्थित नेपाल–चीन मैत्री मञ्चबीच द्विदेशीय लेखक आदानप्रदानबारे काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शिक्षामन्त्री धनिराम पौडेलको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित समारोहमा अक्टोबर लिटरेचर एकेडेमीका उपाध्यक्ष तथा चिनियाँ लेखक चाओ लानचन तथा नेपाल–चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। नेपालमा शरद साहित्यिक प्रतिष्ठानको नामबाट सुरु भएको यो साझेदारीबाट चीन सरकारका तर्फबाट नेपालका साहित्यकार/लेखकलाई चीनमा आवासीय लेखनवृत्तिको अवसर मिल्नेछ भने चीनका लेखक/साहित्यकार पनि लेखन तथा सिर्जनाका लागि नेपाल भ्रमण गर्नेछन्। अक्टोबर लिटरेचर एकेडेमीको नामबाट सञ्चालित यस्तो लेखनवृत्ति प्राप्त गर्ने नेपाल तेस्रो मुलुक हो। चेक गणतन्त्र र स्कटल्यान्डमा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ।

हस्ताक्षर कार्यक्रममा बेइजिङ पब्लिसिङ ग्रुपका निर्देशक लिउ झिउन र काठमाडौंस्थित चिनियाँ दूतावासका सांस्कृतिक विभाग प्रमुख चाङ पिङले नेपालमा शरद साहित्यिक प्रतिष्ठानको थालनीले दुई देशबीच विद्यमान युगौंदेखिको साँस्कृतिक सम्बन्ध अब साहित्यिक गतिविधिमार्फत झन् फराकिलो हुने धारणा राखे।

नेपालका तर्फबाट प्रा.अभि सुवेदी र लुसुन–देवकोटा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले लेखनवृत्ति नेपाल–चीन साहित्यिक साझेदारीका निम्ति कोसेढुंगा भएको बताए।

मञ्च अध्यक्ष डा. शर्माले नेपालमा साहित्यिक पुरस्कारको बाढी नै रहे पनि लेखनवृत्तीको अभाव रहेकाले यस्तो साझेदारीले त्यो कमीलाई पूरा गर्ने तथा चीन–नेपालबीचको साहित्यिक सम्बन्धलाई मजबुत बनाउने विश्वास जनाए।

सन् 1948 मा बेइजिङमा एउटा सार्वजनिक पुस्तक पसलका रूपमा स्थापित बेइजिङ पब्लिसिङ ग्रुप चीनको सबैभन्दा विशाल र एकीकृत पुस्तक तथा प्रकाशन गृह हो। यसको वार्षिक प्रकाशन परिमाण मात्र सात हजारभन्दा बढी छ। ग्रुपले प्रकाशनमार्फत साहित्य–संस्कृतिको प्रवर्धनसँगसँगै अक्टोबर लिटरेचर एकेडेमीमार्फत अन्तर्राष्ट्रिय साहित्यिक आदान–प्रदान र लेखनवृत्ति कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

जानकारी तथा लेखहरु