फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेलम्ची खानेपानी आयोजनामा प्रशोधन केन्द्रको 90 प्रतिशत काम पूरा

(GMT+08:00) 2016-10-24 15:02:08

मेलम्ची खोलाबाट ल्याइने पानी प्रशोधन गर्नका लागि निर्माण भइरहेको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको काम लगभग पूरा भएको छ। हालसम्म पानी प्रशोधन केन्द्रको मुख्य संरचना निर्माण फिल्टर, पानी ट्याङकी, थिग्राउनेलगायतका विभिन्न इकाइको 90 प्रतिशतभन्दा धेरै काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनु भएको कारोबार अनलाइनले लेखेको छ। उहाँका अनुसार पहिलो चरणअन्तर्गतको सम्पूर्ण काम पूरा हुने अवस्थामा छ।

पहिलो चरणको साढे 8 करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माणपछि बाँकी साढे 8 करोड लिटर पानी प्रशोधन केन्द्रको क्षमता विस्तारका लागि ठेकेदार छनोटको काम भइरहेको आयोजनाले जनाएको छ। "अबको केही सातामा नै बाँकी साढे 8 करोड लिटर पानी प्रशोधनको क्षमता विस्तारको काम सुरु हुनेछ," उहाँले भन्नुभयो।

यसअघि बजेटको कमीले आधा मात्र पानी प्रशोधन गर्ने गरी काम अघि बढाइएको थियो। हाल निर्माणाधीन रहेको साढे 8 करोड लिटर प्रशोधनको निर्माण काम सम्पन भएपछि बाँकी आधाको क्षमता विस्तार गर्न लागिएको भट्टराईले जानकारी दिनुभयो। मेलम्चीको पानी राजधानी आउने समयसम्ममा दैनिक 17 करोड लिटर नै प्रशोधन हुने गरी काम भइरहेको उहाँको भनाइ छ। 071 वैशाखदेखि जापानी सहयोग नियोग (जाईका) को सहयोगमा निर्माण सुरु भएको पानी प्रशोधन केन्द्रले मेलम्चीबाट ल्याएको पानी प्रशोधन गर्नेछ।

पानी प्रशोधन केन्द्र आयोजनाको निर्माण सम्बन्धमा 071 असारमा सरकारसँग ठेकेदार कम्पनी अस्ट्रियाको भियटेक बेगार र भारतको प्रतिभा इन्डस्ट्रिज लिमिटेडबीच संयुक्त रूपमा ठेक्का सम्झौता भएको थियो। यी ठेकेदार कम्पनीले संयुक्त रूपमा 4 अर्ब 20 करोड रुपैयाँको ठेक्का पाएका थिए। यस आयोजनाले मेलम्चीबाट पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको मुहानबाट काठमाडौंको सुन्दरीजलमा निर्माण गरिने पानी प्रशोधन केन्द्रमा दैनिक 17 करोड लिटर पानी ल्याई उपत्यकामा वितरण गरिने छ। यसैगरी दोस्रो र तेस्रो चरणमा क्रमशः याङ्ग्री र लार्केखोलाबाट 17–17 करोड लिटर थप्ने सरकारी लक्ष्य छ।

जानकारी तथा लेखहरु