फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिला बडी-बिल्डर ननिताद्वारा नेपाललाई ऐतिहासिक सफलता

(GMT+08:00) 2016-12-05 16:04:47

नेपाली महिला बडी-बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी-बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाउनु भएको छ। उहाँले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न 'आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप' मा कास्य पदक जित्नु भएको छ। 31 वर्षीय ननिता महिला 'एथलेटिक फिजिक' को 1 सय 65 सेन्टिमिटर उचाइमा सहभागी हुनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

उहाँले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाउनु भएको हो। आफ्ना परिवारसहित थाइल्यान्डको पटायास्थित अम्बास्डर सिटी होटलको कन्भेन्सनल हलमा आयोजना भइरहेको यो प्रतियोगिता खेल्न यसै साता नेपालबाट जानु भएको ननिताले आफ्नो सफलता प्रति खुसी व्यक्त गर्नुभयो। उहाँले आफ्नो सफलता घर परिवारको सहयोग र प्रशिक्षकको मेहनतले सम्भव भएको बउनुभयो।

उहाँले भन्नुभयो– 'यो सफलताको खुसियाली म देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्छु।' सात वर्षको छोराकी आमासमेत रहेकी ननिताले दुई महिनाअघि काठमाडौंमा अयोजना भएको महिला बडी-बिल्डिङको उपाधि जित्नुभएको थियो। यो प्रतियोगिताका लागि उहाँले कडा मेहनत गर्नु भएको थियो। ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का गर्नु भएको हो। पाँच महिला बडी-बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन्। रजत पदक भने उज्वेक बडिबिल्डर नुरायेभा येलेनाले जितिन्। सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ननिताको सफलताले नेपाली शारीरिक सुगठनको इतिहासमा नयाँ अध्याय थपिएको बताउनुभयो। अध्यक्ष श्रेष्ठले 2017 को अक्टोबरमा मंगोलियामा हुने नवौं विश्व च्याम्पियनसिप तथा सोही वर्षको अगष्टमा दक्षिण कोरियामा हुने 51 औं एसिायली च्याम्पियनसिपमा सहभागी गराउन ननितालाई विशेष तयारी गराउने बताउनुभयो।

5 फिट 5 इन्च अग्ली ननिताको सबैभन्दा बलियो पक्ष ढाड, पेट र काँध हो। उहाँको ढाड (ब्याक पार्ट) पुरुष बडी-बिल्डरभन्दा कम छैन। पेट (एब्डोमिनल) पनि उत्कृष्ट छ। उहाँले यही स्पर्धाका लागि आफूले इच्छ्याएको खाना पनि खानु भएको छैन। 'मसल्स' मा पर्ने असरका कारण बडी-बिल्डरहरूले प्रतियोगिता आयोजना हुनुभन्दा डेढदेखि तीन महिनाअघिबाट घरमा खाने खाना, गुलियो, अमिलो, पिरो र जंकफुड सबै त्याग गर्नुपर्छ।

ननिताको बडीबिल्डर बन्ने कहानी रोचक छ। उहाँ स्कुले जीवनमा बास्केटबल र भलिबल खुब खेल्नुहुन्थ्यो। उहाँ कीर्तिपुरको मंगल माध्यमिक विद्यालयको भलिबलतर्फको कप्तान नै हुनुहुन्थ्यो। तर, जनमैत्री बहुमुखी क्याम्पस भर्ना भएपछि उहाँ खेलकुदबाट विस्तारै निस्क्रिय हुनुभयो। क्याम्पस पढ्दै गर्दा उहाँको 9 वर्षअघि प्रेम विवाह भयो। बिहे गरेको दुई वर्षमा छोराको पनि जन्म भयो। यतिबेला उहाँको तौल अस्वभाविक रुपमा बढेर 71 केजी पुग्यो।

बढ्दो तौल घटाउन उहाँले बीचका केही वर्ष योगाको पनि सहारा लिनुभयो। तर, सफलता हात नलागेपछि एरोबिक्स र जुम्बा 'ज्वाइन' गर्नुभयो। यसबाट पनि फाइदा नभएपछि श्रीमानको सल्लाहले जीममा संलग्न हुनुभयो। कालिमाटीस्थित डिभाइन जिममा तौल घटाउने क्रममा उहाँको शरीरको विशेषता बुझेपछि प्रशिक्षक रुजेश शाहीले उहाँलाई व्यावसायिक खेलाडीझैं शरीर बनाउन हौसाउनु भएको थियो। हाल उहाँको तौल 55 केजीमा झरिसकेको छ।

तीन वर्षअघि आफ्नो तौल घटाउन जिमहल पुगेकी उनै ननिताले विश्व बडी-बिल्डङ च्याम्पियनसिपमा भाग लिने र कास्य पदक जित्ने पहिलो नेपाली महिलाको पहिचान बनाउनु भएको छ।

जानकारी तथा लेखहरु