फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ लगानी भित्र्याउन नेपाली दूतावासको पहल

(GMT+08:00) 2017-01-20 14:34:40

बेइजिङस्थित नेपाली दूतावासले पहिलोपटक चिनियाँ लगानीकर्ताहरूलाई भेला गरी 'नेपालमा लगानीको अवसर' शीर्षकमा बृहत् कार्यक्रमको आयोजना गरेको छ। दूतावासको सभाकक्षमा बिहीबार आयोजित कार्यक्रममा विभिन्न 12 वटा चिनियाँ लगानी कम्पनीका 22 प्रतिनिधि सहभागी भएका थिए। नेपाली दूतावास र चीनमा स्थापित 'बेल्ट एन्ड रोड एम्बेस्डर फोरम' ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमको मुख्य उद्देश्य नेपालमा चिनियाँ लगानीकर्ताहरूलाई आकर्षित गर्नु रहेको थियो।

कार्यक्रममा राजदूत लीलामणि पौडेलले विभिन्न चिनियाँ लगानीकर्ताहरूलाई स्वागत गर्दै नेपालमा चिनियाँ लगानीको सम्भावना, लगानी सुरक्षा र दुई देशबीचको सुमधुर मैत्री सम्बन्धबारेमा प्रकाश पार्नुभएको थियो। चिनियाँ कम्पनीहरूले नेपाली कम्पनीहरूसँग सहकार्य गर्दै नेपालमा लगानी गर्दा राम्रो हुने बताउँदै उहाँले भन्नुभयो, 'अहिले लोन्ली प्लानेटले पनि नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा राखेको छ। त्यसकारण चिनियाँ लगानीकर्ताले नेपालमा लगानी गर्ने अवसर गुमाउनु हुँदैन।'

आगामी फागुनमा नेपालमा हुने लगानी सम्मेलनमा सहभागी हुनका लागि चिनियाँ लगानीकर्ताहरूलाई आह्वान गर्दै चीनको स्वायत्त प्रदेश तिब्बतसँगको सीमा क्षेत्रमा सडक सञ्जालबाट सम्पर्क विस्तार भइरहेकाले नेपालमा लागनी गर्नका लागि चिनियाँ प्रविधि र पुँजीका लागि सबैभन्दा राम्रो विकल्प रहेको कुरामा राजदूत पौडेलले जोड दिनुभयो।

कार्यक्रममा दूतावासका इकोनोमिक मिनिस्टर विनोद आचार्यले नेपालमा लगानीसम्बन्धी गहन विषय समेटिएको श्रव्यदृश्य सामग्री प्रस्तुत गर्नुभयो। आचार्यले नेपालको पूर्वाधार क्षेत्रमा भइरहेको चिनियाँ लगानीको अवस्थाको जानकारी गराउँदै भविष्यमा अझै बढी चिनियाँ लगानीको सम्भावना रहेको बताउनुभयो।

नेपालको जलविद्युत्, सडक, रेलवे सेवा, सिँचाइ, स्वास्थ्यका पूर्वाधार लगायताका क्षेत्रमा चिनियाँ प्रविधि र लगानी आधारस्तम्भ हुने बताउँदै चिनियाँ लगानीकर्तालाई सो क्षेत्रमा अझै बढी लगानी गर्ने वातावरण रहेको जानकारी दिनुभयो। उहाँले जलविद्युत्मा अहिलेसम्म भएको चिनियाँ लगानी र भविष्यमा हुने सम्भावनालाई विभिन्न तथ्यहरूबाट प्रमाणित गर्दै यस प्रकारका लगानीले चिनियाँ प्रविधि र लगानीकर्तालाई ठूलो लाभ हुने उल्लेख गर्नुभयो।

दूतावासका काउन्सिलर हरिश्चन्द्र घिमिरेले नेपालको पर्यटनसम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गर्दै चिनियाँ लगानीकर्ताका लागि नेपाली पर्यटन सुनौलो अवसर रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु