निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गर्नुभयो।
नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एअरबस–320 विमानबाट उडान थालेको हो। आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एअरलाइन्सले जनाएको छ।
क्वालालम्पुरको प्रथम उडानबाट मन्त्री शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, यहाँस्थित मलेसियाली राजदूतावासका कार्यवाहक प्रमुख फादिल इस्माइललगायत 20 जनाको उच्चस्तरीय प्रतिनिधिमण्डल मलेसियाली राजधानीतर्फ प्रस्थान गरेको छ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्स र नेपाली प्रतिनिधिमण्डललाई टुरिजम मलेसियाका विशिष्ट पदाधिकारी तथा पर्यटन व्यवसायीले आजै विशेष स्वागत गर्ने कार्यक्रम रहेको उक्त एअरलाइन्सले जनाएको छ। मन्त्री शाहीले आफ्ना मलेसियाली समकक्षीका साथै त्यहाँका उच्च अधिकारीहरुसँग द्विपक्षीय हित तथा पर्यटन प्रवर्द्धनबारे छलफल गर्नुहुनेछ।