फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली दृष्टिविहीन क्रिकेट खेलाडीद्वारा कीर्तिमान कायम

(GMT+08:00) 2017-02-10 14:27:25

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन्। भारतको बैङ्गलोरमा जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय 11 रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन्।

बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो क्रिकेटर बनेका छन् । नेपालका लागि भने शतक र दोहोरो शतक प्रहार गर्ने उनी नै पहिलो क्रिकेटर हुन्।यसअघि सन् 2012 मा भएको पहिलो विश्वकप क्रिकेटमा पाकिस्तानका मोहम्मद अक्रमले वेस्ट इन्डिजविरुद्ध दुई सय 64 रन प्रहार गरेका थिए। त्यसयता अन्य कुनै पनि देशका खेलाडीले दोहोरो शतक प्रहार गर्न सकेका थिएनन्।

टेस्ट मान्यता पाएका 10 मध्ये नौ राष्ट्र (जिम्बाबेबाहेक) का दृष्टिविहीन टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा नेपाली खेलाडीले दोहोरो शतक प्रहार गर्नु महत्ववपूर्ण उपलब्धि हो। सन् 2012 देखि सुरु भएको दृष्टिविहीन टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपाल एकमात्र टेस्ट मान्यता नपाएको राष्ट्र हो।

न्युजिल्यान्डविरुद्धको खेलमा पदम र नेपालका अन्य केही कीर्तिमानसमेत कायम भएका छन् । पदमले शुक्रबार न्युजिल्यान्डविरुद्ध मात्र 90 बलको सामना गर्दै 36 चौका प्रहार गरे जुन अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालिमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेको सर्वाधिक चौका हो।

जानकारी तथा लेखहरु