फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालको काबेली जलविद्युतद्वारा विद्युत उत्पादन सुरु

(GMT+08:00) 2017-02-12 14:44:06

काबेली करिडोर आयोजनाअन्तर्गत नवनिर्मित विद्युत् सव–स्टेसनबाट विद्युत् प्रसारण सुरु गरिएको छ। काबेली करिडोर 132 केभी क्षमताको विद्युत् सव–स्टेसनमा भर्खरै सम्पन्न हेवाखोला ए जलविद्युत् आयोजना समावेश गरी प्रसारण गरिएको हो।

पाँचथर सदरमुकाम फिदिम नगरपालिका–4 थापाटारस्थित सव–स्टेसनमा 15 मेगावाट क्षमताको हेवाखोला जलविद्युत् समावेश गरिएको हो । तर, निर्माणाधीन काबेली करिडोर आयोजनाअन्तर्गत इलामको गोदकदेखि पाँचथर हुँदै अमरपुर खण्ड पूरा नभएकाले नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् 33 केभी प्रसारण लाइनबाट 11 केभीमा परिणत गरी स्थानीयस्तरमा मात्र वितरण गरिएको छ।

भारतीय ठेकेदार कम्पनी एबीबी प्रालिद्वारा निर्माण पूरा भएको सव–स्टेसन लामो समय रिचार्ज नहुँदा नवनिर्मित विद्युत् समावेश गर्न कठिन भएको थियो। एबीबीले पाँचथरको थापाटार, अमरपुर र गोदकमा 60 करोड रुपैयाँ लगानी तीनवटा सव–स्टेसन निर्माण गरेको काबेली करिडोर आयोजना प्रमुख इन्जिनियर दीपेन्द्रराज द्विवेदीले बताउनुभयो।

पाँचथर पावर कम्पनीद्वारा उत्पादित हेवा खोला जलविद्युत् आयोजनाबाट इलाम, पाँचथर र ताप्लेजुङबासी लाभान्वित छन्। तर, प्रसारण लाइन क्षमता कम हुनाले क्षमताभन्दा कम विद्युत् उत्पादन गर्दा मासिक 4 करोड 50 लाख रुपैयाँ घाटा बेहोर्नुपरेको उत्पादक कम्पनी पाँचथर पावर कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताउनुभयो।

पाँचथर पावर कम्पनीले करिब दुइ अर्ब 56 करोड रुपैयाँ लगानीमा निर्माण पूरा गरेको 15 मेगावाट क्षमताको नवनिर्मित हेवाखोला जलविद्युत् आयोजनाले यति बेला सरदर 5 मेगावाट मात्र उत्पादन गरिरहेको छ । उनले यो घाटा विद्युत् प्राधिकरणले बेहोर्नुपर्ने बताउनुभयो। पाँचथरको भारपा र याङनाम गाविसको सिमाना हुँदै बग्ने हेवाखोलाबाट अर्को माउन्टेन हाइड्रोपावर कम्पनीको समेत 21 मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणाधीन छ । यहाँ उत्पादित विद्युत् आयोजनाहरू ठेकेदार भरतीय जग्वर एन्ड एस्तर कम्पनीले काबेली करिडोर 132 केभी प्रसारण लाइन निर्माण पूरा गरेपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछन्।

पाँचथर पावर कम्पनी 2068 साउन 30 मा विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार विद्युत् विभागले 2072 साउन 1 गते सम्पन्न गर्नुपर्ने अनुमति दिए पनि महाभूकम्प, नाकाबन्दीलगायत विभिन्न प्राविधिक कठिनाइको कारण एक वर्ष ढिलो गरी निर्माण सम्पन्न गरेको हो । विद्युतगृहदेखि फिदिमको थापाटार सव–स्टेसनसम्म 13 वटा हाइटेन्सन टावर निर्माण गरी ट्रान्समिसन लाइन विस्तार गरेको ईकान्तिपुर अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु