फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ नयाँ वर्षका अवसरमा विशेष कार्यक्रम

(GMT+08:00) 2017-02-13 16:27:24

 

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा चिनियाँ नव वर्ष तथा बसन्त उत्सव कार्यक्रम 2017 सम्पन्न भएको छ। काठमाडौं दरवारमार्गस्थित होटल अन्नपूर्णमा गत शनिवार आयोजना गरिएको सो कार्यक्रममा सभामुख ओनशरी घर्ती, उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, निर्माण तथा यातायात मन्त्री रमेश लेखक, नेपालका लागि चिनियाँ राजदूत यू होङ्ग, पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता पम्फा भूषाल, अग्नीप्रसाद सापकोटा, नेपाली कांग्रेसका नेता सुजाता कोइराला लगायतका उच्च नेता तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासका विशिष्ट अधिकारीहरुका साथै काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेका चिनियाँहरुको समेत सहभागिता रहेको थियो।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले चिनियाँ कुखुरा बर्षको अवसरमा आयोजना गरेको सो कार्यक्रमलाई सम्वोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको सम्बन्ध शताब्दीऔँ पुरानो रहेको बताउनुभयो। मञ्जुश्री, भृकुटी, अरनिको, स्रोङचोङ जस्ता महामानवहरुको पालादेखि जोडिएको नेपाल र चीनबीचको सम्बन्ध सन् 1955 मा कुटनीतिक सम्बन्धमा रुपान्तरण भए पश्चात जनस्तरसम्म प्रगाढ भएको उपराष्ट्रपति पुनले बताउनुभयो। सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले आपसी सम्मान, सद्भाव र भातृत्वमा आधारित दुई देशबीचको सम्बन्ध अद्वितीय तथा बहुआयामिक रहेको भन्दै नेपालको चाहना यो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु पर्ने बताउनुभयो। आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन दुई पक्षबीचको सहकार्यलार्इ व्यापक बनाउन चीनमा नेपालको तर्फबाट उच्चस्तरीय भ्रमणहरु भैरहेको स्मरण गर्दै उपराष्ट्रपति पुनले नेपाल सरकार र नेपाली जनता चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ्गलाई नेपालमा स्वागत गर्न आतुर रहेको पनि जानकारी दिनुभयो। ऐतिहासिक कालदेखि नै चीन नेपालको भरपर्दो मित्र रहेको भन्दै उपराष्ट्रपति पुनले नेपालको आर्थिक पूर्वाधार, शिक्षा स्वास्थ्य, संस्कृति लगायत समग्र विकासमा चीनले पुर्‍याएको सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै चीनले परिकल्पना गरेको वान रोड वान वेल्ट अभियानलाई पूर्ण रुपमा सहयोग गर्न नेपाल प्रतिवद्ध रहेको समेत बताउनुभयो।

1 2
जानकारी तथा लेखहरु