फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मकवानपुरमा चालु आर्थिक वर्षदेखि बालीको बिमा

(GMT+08:00) 2017-02-13 16:29:44

नेपाल सरकारले 2069 देखि बाली बिमा गर्ने कानुनी व्यवस्था गरे पनि मकवानपुरमा भने चालु आर्थिक वर्षदेखि मात्र सुरुवात भएको छ। विविध कारणले बाली क्षति भई कृषकले नोक्सानी भोग्न नपरोस् र कृषि कर्ममा लाग्न हतोत्साही नहुन भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको कान्तिपुर अनलाइनले लेखेको छ। कृषि कार्यालयका बाली विकास अधिकृत रचना देवका अनुसार जिल्लामा तोरी बालीको बिमाबाट बाली बिमा सुरु भएको छ।

हटियाका डिल्लीप्रसाद पराजुलीले 15 कठ्ठा जमिनमा लगाएको तोरी बालीको बिमा गरेका छन्। बाली बिमाबारे कृषकहरूलाई जानकारी नभएकाले पनि विगतका वर्षमा बिमा हुन सकेको थिएन। बिमा गर्न कृषक र कृषि प्राविधिक दुवैले बिमा फाराम भर्नुपर्छ।

प्राविधिकले बालीको मूल्यांकनसहितको फाराम भर्नुपर्ने कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालले बताउनुभयो। मूल्यांकनको आधारमा बाली बिमा गर्ने व्यवस्था छ। बाली लगाएको एक सातादेखि 15 दिनभित्र बिमा गर्नुपर्ने व्यवस्था छ।

बिमा गरेको बाली प्राकृतिक प्रकोप तथा रोगका कारणले नष्ट भएमा बिमा कम्पनीले लागतको 90 प्रतिशत रकम कृषकलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ। इन्स्योरेन्स कम्पनीले बिमा लागतको आधारमा भुक्तानी दिने गर्छ। लागतको 5 प्रतिशत बिमा शुल्क इन्स्योरेन्स कम्पनीलाई बुझाउनुपर्छ।

बिमा कम्पनीलाई बुझाउनुपर्ने 5 प्रतिशतमध्ये 75 प्रतिशत रकम सरकारले कृषकलाई अनुदान स्वरूप उपलब्ध गराउने व्यवस्था छ। कृषकले जम्मा प्रिमियमको 25 प्रतिशत मात्र रकम कम्पनीलाई बुझाउनुपर्छ।

बिमा गर्नका लागि कम्तिमा पनि एक कठ्ठा क्षेत्रफलमा खेती गरिएको हुनुपर्ने व्यवस्था रहेको छ। बाली बिमाबारे कृषकलाई जानकारी नभएको मनहरी गाविसका कृषक सुरेश न्यौपानेले भन्नुभयो, 'बालीको बिमा गर्ने व्यवस्था छ भन्ने कुरा गाउँका कृषकलाई थाहा नै छैन।'

गाउँ/गाउँमा रहेको कृषि सेवा उपकेन्द्रका प्राविधिकले बाली बिमा गर्न कृषकलाई उत्प्रेरित नगरेको गुनासो ग्रामीण भेगका अगुवा कृषकहरूको रहेको छ। कृषकहरूले जोखिम मोलेर बाली लगाइरहेका छन्। 'बिमा गर्ने व्यवस्था जानकारी भएको भए उनीहरूले यस्तो जोखिम मोल्नुपर्ने थिएन,' थाहा नपाएका कृषक रामहरि कार्कीले भन्नुभयो।

जानकारी तथा लेखहरु