फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको हेल्थ डेस्क बन्दै

(GMT+08:00) 2017-02-14 16:17:31

विदेशबाट आएका पर्यटक तथा नेपाली यात्रुको स्वास्थ्य जाँच गराउन त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य परीक्षण सहायता कक्ष (हेल्थ डेस्क) बन्ने भएको छ। विश्व स्वास्थ्य संगठनको करिब 35 लाखको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय स्तरको हेल्थ डेस्क बन्न लागेको कारोबार अनलाइनले लेखेको छ।

सरकारले विगत 3 वर्षअघि  अफ्रिकन मुलुकबाट फैलिएको महामारी इबोला भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन त्रिभुवन विमानस्थलसहित पूर्वमा काँकडभिट्टा चौकी, विराटनगर रानी, पश्चिममा गड्डाचौकी महेन्द्रनगर, भैरवहवामा बेलहिया नाका, नेपालगञ्ज जमुनाहा नाका गरी देशका 7 सीमा क्षेत्रमा हेल्थ डेस्कको स्थापना गरेको थियो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आर्चायले विमानस्थलमा बन्ने अन्तर्राष्ट्रिय स्तरको हेल्थ डेस्क 15 दिनभित्र तयार भइसक्ने बताउनुभयो। "3 वर्षअघिदेखि हेल्थ डेस्कको स्थापना भए पनि अहिलेसम्म नेपाल भित्रिएका शंकास्पद बिरामीलाई डेस्कमा बोलाएर परामर्श दिने राम्रो ठाउँसमेत थिएन।

विदेशबाट आउनेले झट्ट हेर्दा नेपालकै छवि नै बिग्रने अवस्थामा देखिन्थ्यो," डा. आर्चायले भन्नुभयो, "अब बन्ने हेल्थ डेस्क हेर्दा आकर्षकमात्र होइन, व्यवस्थित बन्ने भएकाले अन्य देशको तुलनामा कम दखिनेछैन।"

डा. आर्चायका अनुसार आगमनस्थलमा एउटा थर्मल स्क्यानर क्यामरा जडान गरिनेछ। प्रत्येक यात्रुलाई सो क्यामराबाट पास भएर जाने व्यवस्था गरिएको छ। उक्त क्यामराले आगमन भएका प्रत्येक यात्रुको निधारबाट मानिसको तापक्रम नाप्ने काम गर्छ।

जसको शरीरको तापक्रम भएको देखाउँछ, सो यात्रुलाई बिरामीको शंकाको दायरामा राखेर डेस्कमा ल्याएर परामर्श लिएर सम्पूर्ण विवरण राखिन्छ। आवश्यक परामर्श दिने काम गरिन्छ। अब बन्ने हेल्थ डेस्कका लागि विमानस्थलको अध्यागमन कार्यालय परिसरमै अर्को कक्ष पनि राखिएको हुनेछ। उक्त कक्षमा बिरामीलाई परामर्श दिने, कम्प्युटरको माध्यमबाट बिरामीको सम्पूर्ण जानकारी राखिने डा. आचार्यले बताउनुभयो।

विमानस्थलमा थर्मल स्क्यानर क्यामराको माध्यमबाट बिरामी पत्ता लगाइने भए पनि अन्य 6 ठाउँका स्थलमार्गमा राखिएका हेल्थ डेस्कमा भने टाँसिएको सूचनाको आधारमा संकास्पद बिरामी आफैँ हेल्थ डेस्कको सम्पर्कमा आउने डा. आचार्यले बताउनुभयो।

"विभिन्न रोगको लक्षणसहित कसैलाई यस्तो लक्षण देखिएमा हेल्थ डेस्कमा सम्पर्क गर्न सूचना टाँसेको छ। त्यही सूचना हेरेर आफैँ सम्पर्कमा आउँछन्। उनीहरूलाई डेस्कका कर्मचारीले आवश्यक परामर्श दिएर आवश्यक परे उपचारका लागि सम्बन्धित ठाउँमा पठाइदिन्छन्," डा. आचार्यले भन्नुभयो।

महाशाखाका अनुसार उक्त डेस्कमा हेल्थ असिस्टेन्ट, सिनियर अहेब र हेल्थ असिस्टेन्ट गरी 5 जना कर्मचारी 24 घण्टै सेवामा खटिएका छन्। यद्यपि हेल्थ डेस्कका लागि आवश्यक कर्मचारीका लागि छुट्टै दरबन्दी नभएका कारण जनस्वास्थ्य कार्यालयले पालैपालो कर्मचारी खटाउनुपर्ने बाध्यता रहेकाले डेस्कले सोचेजस्तो काम गर्न नसकेको डा. आचार्यले बताउनुभयो।

उक्त डेस्क सञ्चालन गर्नका लागि सरकारले वर्षको 3 लाखका दरले 7 वटै ठाउँमा बजेट पठाउने गरेको छ। मेडिकल चिकित्सक, नर्स, ल्याबलगायतका आवश्यक हेरेर कर्मचारी राख्न सकिने गरी बजेट विनियोजन गर्दै आएको छ।

जानकारी तथा लेखहरु