फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन संयुक्त सैन्य अभ्यास यही 28 फेब्रुअरीदेखि 10 मार्चसम्म हुने

(GMT+08:00) 2017-02-16 14:35:11

चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच गर्ने भनिएको 10 दिने संयुक्त सैन्य अभ्यास यही फागुन 17 देखि 27 गते अर्थात् 28 फेब्रुअरी देखि 10 मार्चसम्म हुने भएको छ। नेपाली सेनाले पहिलो पटक चिनियाँ सेनासँग गर्ने संयुक्त सैन्य अभ्यासका लागि सैन्यवृत्तमा जारी गरिएको गोप्य 'सर्कुलर'का आधारमा सो मिति खुलेको हो।

'सर्कुलर'मा संयुक्त सैन्य अभ्यासको मिति तोकिएको भए पनि यता, नेपाली सेनाका प्रवक्ता सहायक रथी तारा बहादुर कार्की भन्नुभयोः'चिनियाँ सेनाका अधिकारीसँग प्रारम्भिक(इनिसियल) बैठकमा दुवै पक्षले एजेण्डा राख्ने काम भएको छ। कसरी, कहिले, कहाँ र कति संख्यामा सैन्य अभ्यास गर्ने भन्ने बारेमा भने फाइनल मिटिङ बसेर तय हुन्छ। नेपालखबर अनलाईनका अनुसार सेनाको उच्च स्रोतले संयुक्त सैनिक अभ्यास 17 फागुनदेखि हुने दाबी गरेको छ।

काठमाडौंको वरिपरि हुने भनिएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको भैरव गण सहभागी हुने जनाइएको छ। 'प्रतिकार'नाम दिइएको संयुक्त सैन्य अभ्यास प्रतिविद्रोह, जंगल वारफेयर, सैनिक कूटनीति, नागरिक–सैनिक सम्बन्ध, पेसागत क्षमता अभिवृद्धिलगायत विषय समेटिने छन्। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले पुस 14 गते पत्रकार सम्मेलन गरी नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सन् 2017 भित्र सैन्य अभ्यास हुने घोषणा गरेका थिए। त्यसपछि चिनियाँ सैनिक अधिकारी संयुक्त सैनिक अभ्यासको प्रारम्भिक छलफल गर्न नेपाल आए।

नेपाल आएका चिनियाँ जनमुक्ति सेनाका सिनियर कर्णेल लियो ज्याम्लिनयाङको टोलीले माघ 28 गतेबाट सैन्य अभ्यास गर्ने प्रस्ताव नेपाली सेना समक्ष राखेका थिए। तिब्बत कमाण्ड अन्तरगत तालिम शाखाका स्टाफ निर्देशक समेत रहेका लियोले राखेको प्रस्ताव भन्दा 20 दिन पछि संयुक्त सैन्य अभ्यास गर्ने टुंगो लागेको छ। यद्यपी सैन्य अभ्यासको बारेमा भारतीय चासो बढेपछि त्यसको मिति अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरिएको छैन।

सैनिक प्रवक्ता कार्कीले आपसी समझदारीबाट 'फाइनल प्लानिङ कन्फ्रेन्स' बैठक बसेपछि तालिमसम्बन्धी विस्तृत जानकारी बाहिर ल्याउने जनाउनुभयो। त्यस्तै चिनियाँ सेनाका मेजर जनरल ली ऊ चुनको नेतृत्वमा अर्को टोलीले पनि माघ 9 गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई भेटेर सैन्य अभ्यास सम्बन्धी छलफल गरेको थियो। यी प्रारम्भिक बैठकपछि सैन्य अभ्यासको एजेण्डा तय भइसकेको प्रवक्ता कार्कीको भनाइ छ।

नेपालखबरलाई प्राप्त नेपाली सेनाले पत्राचार गरेको एक सर्कुलरमा भने फागुन 17–27 गतेसम्म 10 दिने संयुक्त सैन्य अभ्यासका लागि एयरपोर्टमा पास उपलब्ध गराउन भनिएको छ। नेपाली सेनाले यसअघि भारतीय सेना र अमेरिकी सेनासँग मात्र सैन्य अभ्यास गर्दै आएको थियो। सडक निर्माणमा भने बेलायती सेनासँग पनि नेपाली सेनाले संयुक्त अभ्यास गरेको प्रवक्ता कार्कीले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु