फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'फिक्स्ड लाइन' टेलिफोनका नेपाली ग्राहक घटे

(GMT+08:00) 2017-02-19 14:45:17
कुनै बेला एकदमै लोकप्रिय र जडानका लागि उच्च सरकारी अधिकारी तथा मन्त्रीसम्मको 'भनसुन' गराउनुपर्ने 'फिक्स्ड' टेलिफोन सेवाका ग्राहक घट्न थालेका छन्। केही वर्षदेखि नै वृद्धिदर कम भइरहेको 'फिक्स्ड' लाइनका पुराना प्रयोगकर्तासमेत घट्न थालेको कान्तिपुर अनलाइनले लेखेको छ।

मोबाइलको प्रयोग बढेसँगै तारयुक्त तथा ताररहित 'फिक्स्ड' टेलिफोन सेवाका प्रयोगकर्ताको वृद्धिदरमा कमी आउन थालेको थियो। तर, पुराना ग्राहकले नै सेवा बन्द गरेर पहिलेको संख्यामा कमी आउन भने थालेको थिएन। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार 'फिक्स्ड' लाइनका ग्राहक संख्यामा कमी आएको देखिन्छ।

मोबाइल सेवा सुरु भएदेखि नै आकर्षण कम भएको यो सेवाका पुराना ग्राहकले अहिले सेवा बन्द गराउन थालेकाले संख्यामा कमी आएको हो। पछिल्लो एमआईएस प्रतिवेदनअनुसार एक महिनामा फिक्स्ड' लाइन प्रयोग गर्ने ग्राहकको संख्यामा 1 हजार 3 सय 51 ले कमी आएको देखिन्छ।

मोबाइल सेवामा आवद्ध हुने ग्राहकको संख्या मासिक रूपमा झन्डै 5 लाखले वृद्धि हुँदा तारयुक्त टेलिफोन लिइरहेका ग्राहकले भने सेवा छाड्न थालेका हुन्। व्यक्तिगत रूपमा बोकेर हिँड्न मिल्ने मोबाइल सेवाका कारण केही वर्षदेखि नै तारयुक्त 'फिक्स्ड' टेलिफोनमा ग्राहकको आकर्षण कम हुँदै गएको छ। प्राधिकरणको पछिल्लो प्रतिवेदनमा गत कात्तिक महिनाको तथ्यांक समावेश छ। प्रतिवेदनअनुसार असोजको तुलनामा कात्तिक महिनामा 'पब्लिक स्विच्ड टेलिफोन नेटवर्क (पीएसटीएन)' र 'वायरलेस लोकल लुप (डब्लूएलएल)' प्रविधिमा आधारित 'फिक्स्ड' लाइन सेवाका ग्राहकको संख्या कम भएको देखिन्छ। यस अवधिमा पीएसटीएन ग्राहकको संख्यामा 8 सय 14 ले कमी आएको छ भने डब्लूएलएल ग्राहकको संख्यामा 5 सय 37 ले कमी आएको छ।

'अहिले सबैको रोजाइ नै मोबाइल भएको छ,' नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भन्नुभयो, 'त्यसले गर्दा 'फिक्स्ड' लाइनमा खासै आकर्षण देखिँदैन, तर सेवा बन्द गर्नेहरू मात्र भने छैनन्, अफिस र घरायसी प्रयोगका लागि नयाँ जडान गर्ने पनि उत्तिकै छन्।' नेपाल टेलिकमको पीएसटीएन सेवा लिएका धेरै ग्राहकले एडीएसएलमार्फत इन्टरनेट चलाउने गर्छन्। धेरैले यही सेवाका लागि पीएसटीएनलाई चलाइरहेका भए पनि पछिल्लो समयमा उच्च गतिको इन्टरनेट सस्तोमा पाइन थालेपछि कतिपयले पीएसटीएन बन्द गर्न थालेका हुन्।

प्राधिकरणका अनुसार हाल नेपाल टेलिकम, स्मार्ट टेलिकम र सीजी कम्युनिकेसनले मात्र पीएसटीएन सेवा चलाइरहेका छन्। यसैगरी टेलिकम, युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) र नेपाल स्याटलाइटले डब्लूएलएल प्रविधिमा आधारित 'फिक्स्ड' लाइन सेवा दिइरहेका छन्।

पछिल्लो एमआईएस प्रतिवेदनअनुसार गत कात्तिकसम्ममा नेपाल टेलिकमका पीएसटीएन ग्राहकको संख्या 6 लाख 77 हजार 4 सय 41 रहेका छन्। असोजसम्म भने यो संख्या 6 लाख 78 हजार 2 सय 55 रहेको थियो। यसैगरी सीजीका 2 हजार 8 सय 32 र स्मार्टका 5 सय 98 पीएसटीएन ग्राहक छन्।

प्राधिकरणका अनुसार टेलिकमका डब्लूएलएल प्रयोग गर्ने ग्राहकको संख्या 1 लाख 21 हजार 8 सय 2 रहेका छन्। यसैगरी यूटीएलका 50 हजार 1 सय 27 र नेपाल स्याटलाइटका 2 हजार 9 सय 84 रहेका छन्।

जानकारी तथा लेखहरु