फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल एयरलाइन्सका चिनियाँ नयाँ जहाजले आजबाट उडान भर्दै

(GMT+08:00) 2017-02-22 16:22:41

         नेपाल एयरलाइन्सका चिनियाँ नयाँ जहाजले मंगलबारबाट उडान भर्ने भएका छन्। नेपाल वायु सेवा निगमले 15 दिनअघि नेपाल अवतरण गराएका चिनियाँ दुई नयाँ विमान मोडर्न आर्क (एमए 60) र वाई 12 ले मंगलबारबाट उडान गर्ने भएका हुन्।

         निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार निगमले नयाँ विमानको उडान तालिका पुरानै गन्तव्यमा थप गरेको हो । यो सँगै निगमसँग आन्तरिक उडानका लागि 6 वटा जहाज छन्। अहिले निगमका दुई वटा एमए 60, दुई वटा वाई 12 र दुई वटा ट्विनअटर विमान छन्। आन्तरिक उडान भरिरहेको एउटा ट्विनअटर विमानको अहिले मर्मत भइरहेको छ।

         2070 सालमा निगमले गरेको सम्झौता अनुसार चीनबाट अझै दुई वटा विमान ल्याउन बाँकी छ। तत्काललाई 6 वटा जहाजबाट आन्तरिक उडान भर्ने भए पनि थप दुई विमान भित्र्याएपछि निगमसँग आन्तरिक उडानका लागि नौ वटा विमान हुनेछन्। निगमले चीन सरकारको सहुलियत ऋणमा यी विमान भित्र्याएको हो।

          2069 सालमा नेपाल र चीन सरकारबीच भएको सम्झौताबमोजिम नेपाल वायुसेवा निगमले कुल 6 वटा जहाज ल्याउने भनिएकोमा अनुदानमा दुई वटा र सहुलियत ऋणमा चार वटा ल्याउने सहमति भएको थियो । उक्त सहमति अनुरुप निगमले 2071 वैशाखमा अनुदानमा पहिलो जहाज एमए 60 ल्याएको थियो भने कात्तिकमा वाई 12 जहाज ल्याएको अन्नपूर्ण पोस्ट अनलाईनले जनाएको छ।

         हाल निगमले चार वटा विमानबाट 20 वटा गन्तव्यमा सेवा दिइरहेकोमा थप विमानबाट अहिलेलाई पुरानै गन्तव्यमा थप उडान गर्ने योजना बनाएको छ। 56 सिट क्षमताको नयाँ विमान एमए 60 ले दैनिक काठमाडौं-विराटनगर-काठमाडौं र धनगढी उडान भर्नेछ भने हप्तामा चार दिन (आइतबार, सोमबार, मंगलबार र शुक्रबार) काठमाडौं-भद्रपुर उडान भर्नेछ । फेवा नाम दिइएको यस विमानको नेपाली कल साइन 'नाइन एन एकेआर' रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

         त्यस्तै एमए 60 ले हप्तामा तीन दिन (बुधबार, बिहीबार र शनिबार) काठमाडौं-भैरहवा उडान भर्नेछ । त्यस्तै 17 सिटे वाइ 12 ले काठमाडौं-पोखरा दैनिक दुई उडान र नेपालगन्ज एउटा उडान गर्ने भएको छ। यो विमानले काठमाडौं भैरहवा रुटमा हप्तामा चार दिन (आइतबार, सोमबार, मंगलबार र शुक्रबार) उडान गर्नेछ भने हप्ताको तीन दिन (बुधबार, बिहीबार र शनिबार) काठमाडौं-सिमरा उडान भर्ने निगमले जनाएको छ।

         निगमले वाइ 12 लाई गौंथली नामाकरण गरेको छ। निगमका अनुसार एमए 60 को परीक्षक पाइलट क्याप्टेन गोपालसिंह बिष्ट छन् भने वाई 12 का लागि विदेशी पाइलट राखिएको छ।

जानकारी तथा लेखहरु