फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी सम्मेलनमा नेपालका आठ क्षेत्रमा लगानीका लागि आह्वान गरिने

(GMT+08:00) 2017-02-26 13:51:28

काठमाडौं- सरकारले यसै साता गर्न लागेको नेपाल लगानी सम्मेलनमा 25 देशका दुई सयभन्दा धेरै लगानीकर्ताले सहभागिता जनाउँदै छन्। विश्वका विभिन्न देशका व्यवसायीबीच सरकारले नेपालका आठ क्षेत्रमा लगानी गर्न आह्वान गर्दैछ।

यही फागुन 19 र 20 गते राजधानीमा हुन लागेको उक्त लगानी सम्मेलनका क्रममा विदेशी सहभागीबाट लगानीको प्रतिबद्धता आउने समेत अपेक्षा गरिएको छ। 'नेपाल लगानीको उपयुक्त गन्तव्य हो भनेर सन्देश दिन खोज्दैछौं,' नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भन्नुभयो, 'सम्मेलनबाट लगानीका घोषणा पनि हुन सक्छ।'

सम्मेलनमा विश्वभरका 25 देशबाट दुई सयभन्दा धेरै व्यवसायी तथा लगानीकर्ताले सहभागी हुने प्रतिबद्धता जनाएको उद्योग विभागका महानिर्देशक प्रदिप कोइरालाले बताउनुभयो। सम्मेलनमा सहभागी हुन दक्षिण एसियासहित चीन, अमेरिका, युरोपेली देशहरू, खाडी मुलुकहरू र केही अफ्रिकन मुलुकबाट पनि लगानीकर्ता आउँदै छन्।

सम्मेलनमा 6 सयभन्दा धेरैको सहभागिता रहने छ। उक्त सम्मेलनमा स्वदेशी व्यवसायी, विदेशी पाहुना तथा व्यवसायी प्रतिनिधि, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधिको पनि सहभागिता रहनेछ। उद्योग मन्त्रालय, लगानी बोर्ड र योजना आयोगको सहकार्यमा गर्न लागिएको सम्मेलनमा मुख्य रुपमा आठ क्षेत्रमा लगानी गर्न आह्वान गरिँदै छ।

नेपालमा लगानीको सम्भावना रहेका मुख्य आठ क्षेत्रमा केन्द्रित रहेर सम्मेलनमा प्रस्तुति तथा छलफल गरिनेछ। विदेशी लगानी आउन सक्ने भनेर छानिएका क्षेत्रहरूमा कृषि, बैंकिङ तथा फाइनान्स, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उत्पादनमूलक क्षेत्र, खनिज तथा खानी, पर्यटन र यातायात क्षेत्र रहेका छन्।

कृषि क्षेत्रमा मल उद्योग, सिँचाइ नहर, बाटो, इलेक्ट्रिक पावर, कृषि फाइनान्सिङ, कृषि मेसिन, सामग्री तथा प्रविधि र बीउ उत्पादनमा लगानी गर्न सकिने भनेर पहिचान गरिएको छ। त्यसैगरी, उत्पादन तथा प्रोसेसिङ क्षेत्रमा चिया, कफी, मह, अदुवा, अलैंची, गैरकाष्ठ बन पैदावार जस्ता क्षेत्रहरू लगानी गर्न सकिने भनेर देखाइएको छ।

बैंकिङ तथा फाइनान्सिङ अन्तर्गत इन्सुरेन्स व्यवसायमा लगानी गर्न सकिने भनिएको छ। नेपालमा सन् 2011 सम्ममा इन्सुरेन्स पेनिट्रेसन जम्मा 1.31 प्रतिशत मात्र रहेकाले यहाँ अझै पनि इन्सुरेन्स क्षेत्रमा लगानी गर्न सकिने भनिएको छ। देशमा हाल जम्मा 26 वटा इन्सुरेन्स र एक रिइन्सुरेन्स कम्पनी छन्। जसमध्ये सरकारी दुई, निजी क्षेत्रका 18, विदेशी तीन र संयुक्त लगानीका चारवटा रहेका छन्।

नेपालमा लगानीको लागि सबैभन्दा धेरै सम्भावित क्षेत्र ऊर्जा हो। सूचना तथा सञ्चार प्रविधि (आइसिटी), उत्पादनमूलक उद्योग तथा खनिज तथा खानीमा 6 वटा क्षेत्रमा लागानी गर्न सकिने भनेर छुट्ट्याइएको छ। त्यस्तै नेपालमा विदेशीको राम्रो लगानीको सम्भावना भएको अर्को क्षेत्र हो पर्यटन उद्योग, यातायात र लगायत रहेको नागरिकन्यूज डट कमले जनाएको छ।

जानकारी तथा लेखहरु