फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र 'ग्रिनकार्ड' प्रदान

(GMT+08:00) 2017-02-26 13:51:50

चीनले नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र 'ग्रिनकार्ड' उपलब्ध गराउन थालेको छ। उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका अधिकारीले बताए। चीनको स्वशासित क्षेत्र तिब्बतमा लामो समयदेखि विभिन्न पेसा–व्यवसायमा संलग्न रही बसोबास गरिरहेका नेपालीले ग्रिनकार्ड पाएका हुन्।

उनीहरूलाई स्थानीय भाषामा 'खचेरा' भनिन्छ। तिब्बतको गृह मन्त्रालयका अधिकारीले 118 नेपालीलाई ग्रिनकार्ड उपलब्ध गराएको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताउनुभयो। उहाँका अनुसार ग्रिनकार्ड पाउने 118 मध्ये महावाणिज्यदूतावासमा स्थानीय कर्मचारीका रूपमा काम गर्ने दुईजना नेपालीसमेत रहेको अन्नपूर्ण पोस्ट अनलाईनले लेखेको छ।

चीनले उलपब्ध गराएको ग्रिनकार्डको अवधि दस वर्ष रहनेछ। ग्रिनकार्ड पाएपछि उनीहरूले स्वास्थ्य उपचार बिमालगायत सुविधा चिनियाँ नागरिकसरह पाउने कार्कीले बताउनुभयो।

नेपाली राहदानीको म्याद दस वर्ष बहाल रहने हुँदा सोहीअनुसार ती नेपालीले तिब्बतमा दसबर्से बसोबास अनुमतिपत्र पाएको उहाँले बताउनुभयो। 'ग्रिनकार्ड पाए पनि नेपालीले चिनियाँ नागरिकसरह कुनै राजनीतिक अधिकारचाहिँ पाउँदैनन्। नेपालीहरू यसरी ग्रिनकार्ड लिएपछि वर्षको 9 महिना अनिवार्य तिब्बत बसेकै हुनुपर्नेछ। वर्षका बाँकी तीन महिना उनीहरू तिब्बतबाट बाहिर जान पाउँछन्। तिब्बतमा हाल एक सय 70 जना हाराहारी 'खचेरा' रहेको उपवाणिज्यदूत पुरुषोत्तम ढुंगेलले बताउनुभयो। डेढ वर्षअघि हामीले तथ्यांक संकलन गर्दा उनीहरूको संख्या 177 थियो।

नेपालीलाई ग्रिनकार्ड दिइएको सम्बन्धमा चीनले नेपाल सरकारलाई चाँडै जानकारी गराउने भएको छ। चिनियाँ अधिकारीले ग्रिनकार्ड पाउने नेपालीमध्ये अधिकांश तिब्बतमै जन्मेकाहरू रहेको चाइना डेलीसँगको कुराकानीमा बताएका छन्। ती नेपालीसँग ग्रिनकार्ड नरहेका कारण स्वास्थ्य बिमा, शैक्षिक अध्ययन, रोजगारी र बसोबासमा समेत अनेक झमेला झेल्नुपर्ने बाध्यता थियो।

तिब्बतमा होटेल व्यवसाय, कलकारखा तथा निर्माण क्षेत्रमा नेपाली सहभागी छन्। महावाणिज्य दूतावासका अनुसार झन्डै दुई सय नेपाली कामदार ल्हासामा छन्।

नेपाली नागरिकका अलावा फ्रान्स र स्विट्जरल्यान्डका केही नागरिकले पनि तिब्बतमा ग्रिनकार्ड पाएका छन्। ल्हासास्थित गृह मन्त्रालयका अधिकारीले सन् 2008 देखि 31 जना विदेशीलाई ग्रिनकार्ड दिएका थिए। सन् 2008 यता यति ठूलो संख्यामा विदेशीलाई ग्रिनकार्ड पहिलोपटक दिइएको अधिकारीहरूले बताए।

तिब्बतस्थित चिनियाँ गृह मन्त्रालयका अधिकारी वु सिङ्मिङले त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका अन्य विदेशी नागरिकलाई पनि ग्रिनकार्ड दिइने बताउनुभयो।

चीनले सन् 2005 देखि विदेशीलाई ग्रिनकार्ड उपलब्ध गराउन थालेको हो। अहिले चीनले ग्रिनकार्ड दिने काममा सुधार गर्न थालेको छ। चीनको केन्द्रीय गृह मन्त्रालयका अनुसार गत वर्षसम्म 1,576 जना विदेशी नागरिकले आवासीय अनुमतिपत्र पाएका छन्।

जानकारी तथा लेखहरु