फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा निर्माण सामग्रीको गुणस्तर परीक्षण सुरु

(GMT+08:00) 2017-02-27 14:39:08

नेपाल सरकारले विभिन्न क्षेत्रमा भएका उद्योगले उत्पादन गरेको निर्माण सामग्रीको नमूना संकलन गरे धामाधम गुणस्तर परीक्षण गर्न सुरु गरेको छ। भूकम्प प्रभावित जिल्लामा धमाधम घर बनाउने काम सुरु भएको बेला उद्योगीले कमसल निर्माण सामग्री उत्पादन गरेर पठाउने सम्भावना बढेकाले नापतौल तथा गुणस्तर विभागले गुणस्तर परीक्षण गर्ने भएको नेपाल खबर अनलाइनले लेखेको छ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार हाल पूर्वका उद्योगले उत्पादन गरेको निर्माण सामग्रीको नमूना संकलन गरेर विभागमा ल्याएको छ। '20 देखि 25 वटा नमूना संकलन गरेर ल्याइएको छ,' उहाँले भन्नुभयो, 'ती नमूनालाई परीक्षणका लागि विभागमा भएको ल्याबमा पठाउँछौं।'

विभागका कर्मचारीले ल्याएको नमूना परीक्षण गर्दा नापतौल गुणस्तर चिन्ह्रले तोकेको मापदण्ड अनुसार नभएको पाइएमा कम्पनीलाई कारबाही गर्ने पुडासैनीले जानकारी दिनुभयो। 'कमसल सामग्री उत्पादन गरेर पठाएको पाइएमा विभागले कारबाही गर्छ,' उहाँले भन्नुभयो, 'विभागका कर्मचारीले सिमेन्ट, रड, वायरलगायत नमूना संकलन गरेर ल्याएको छ।'

विभागले विराटनगरबाट निर्माण सामग्रीका 20 वटा नमूना संकलन गरेर ल्याएको छ। 'केही दिन अघि नमूना ल्याएको छ,' उहाँले भन्नुभयो, 'सरकाले तोकेको मापदण्ड अनुसार छ कि छैन भन्ने कुरा परीक्षण पछि मात्रै थाहा हुन्छ।'

कम्पनीले उत्पादन गरेर बजारमा पठाएको सामग्री विभागले नमूनाको रुपमा संकलन गर्छ। सोही संकलन गरेको नमूना परीक्षण गर्ने गरेको छ। यदि सरकारले निर्धारण गरेको मापदण्ड भन्दा कम गुणस्तरीय भएको पाइएमा उद्योगमाथि कानुनी कारबाही हुने पुडासैनीले जानकारी दिनुभयो।

एकातिर भूकम्प पीडितले धमाधम घर निर्माण थालेको बेला निर्माण सामग्री कम गुणस्तरीय हुनुका साथै महँगो पनि हुन सक्ने उहाँले जानकारी दिनुभयो। 'भूकम्पपीडित मूल्य र गुणस्तर दुवैमा ढगिने सम्भावना हुन्छ,' उहाँले भन्नुभयो, 'विभागले मूल्य र गुणस्तरको बारेमा जानकारी लिन निर्माण सामग्रीमाथि अनुगमन गर्न थालेको हो।'

भूकम्प अति प्रभावित 14 जिल्लामा पुन निर्माण प्राधिकरणले धमाधम काम सुरु गरेको छ। ती जिल्लामा निर्माण सामग्रीको खपत बढी हुने र त्यहीँ ठाउँमा पीडित ठगिने भएकाले सरकारले निर्माण सामग्रीको अनुगमनलाई बढाएको विभागले जनाएको छ।

'विशेषगरी, घर बनाउन प्रयोग गरिने रड र सिमेन्टको गुणस्तर परीक्षण हुन्छ,' उहाँले भन्नुभयो, 'विभागका कर्मचारीले त्यहीँ निर्माण सामग्रीको नमूना संकलन गरेको ल्याएको छ।' विभागले यस अघि पनि कम गुणस्तरीय सिमेन्ट उत्पादन गरेर बजारमा पठाउने उद्योगमाथि सिलबन्दी गरेको थियो।

उहाँका अनुसार सरकारी मापदण्ड अनुसार सिमेन्ट उत्पादन गरेकै कारण धेरै उद्योगमा सिलबन्दी गरेका थियौं। अहिले रड उद्योगले पनि गुणस्तरीयतामा कम ल्याएको पाइएमा कानुनअनुसार कारबाही हुने पुडासैनीले जानकारी दिनुभयो।

विभागले पहिलो चरणमा पूर्वबाट नमूना संकलन गर्न थालेको छ। पूर्वका उद्योगले उत्पादन गरेको निर्माण सामग्रीको गुणस्तरीयता परीक्षण सकेपछि वीरगंज र नेपालगंजका उद्योगले उत्पादन गरेको निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने विभागको तयारी छ।

सिमेन्ट उत्पादनका लागि राजधानी मानिँदै आएको भैरहवा क्षेत्रमा भएका उद्योगको उत्पादनको गुणस्तर पनि परीक्षण गर्ने भएको हो। रड, सिमेन्ट, वायरलगायत निर्माण सामग्रीको मूल्य समेत बढेकाले आपूर्ति मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्ने पुडासैनीले जानकारी दिनुभयो। 'मूल्य पनि आकाशिएको भन्ने गुनासो आएको छ,' उहाँले भन्नुभयो, 'उत्पादित सामग्रीको बारेमा हामी हेर्छौ, मूल्यको बारेमा आपूर्ति मन्त्रालयसँग सहकार्य गर्नेछौं।'

जानकारी तथा लेखहरु