फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बारपाकको दलित बस्तीमा भूकम्प स्मृति उद्यान

(GMT+08:00) 2017-02-28 15:10:05

'गोरखा भूकम्प'को केन्द्र गोरखाको बारपाक वडा नं. 5 स्थित बस्तीलाई भूकम्प स्मृति उद्यानमा रुपान्तरण गर्ने तयारी अघि बढेको छ। 40 घरधुरी झुरुप्प परेको यस दलित बस्ती 072 बैशाख 12 को भूकम्पको एकै झट्कामा ध्वस्त भएको नेपाल खबर अनलाइनले लेखेको छ।

महाविनाशकारी भूकम्पले पुर्‍याएको क्षति, अवस्था भावी पुस्तालाई जस्ताको त्यस्तै देखाउन बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्न लागिएको हो। जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पले पुर्‍याएको क्षति, भूकम्पमा देशभर ज्यान गुमाएकाहरूको सम्झनामा उद्यान निर्माण गर्ने निर्णय गरेको भएपनि उद्यान निर्माणलाई बजेट आएको थिएन।

भूकम्प गएको एक वर्ष पुगेको दिन गत बैशाख 12 मा बारपाक पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यानको शिलान्यास गरेपनि उद्यान निर्माण प्रक्रिया अघि बढेको थिएन। बारपाकमा रहेको दलित बस्तीलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी सो ठाउँमा उद्यान निर्माण गर्न लागिएको जिल्लास्थित शहरी विकास तथा भबन निर्माण डिभिजन कार्याल्यका प्रमुख रोशन श्रेष्ठले जानकारी दिनुभयो।

दलित बस्तीका बासिन्दा बैशाख 12 देखि नै वडा नं. 4 को सार्वजानिक जग्गामा टहरो बनाएर बस्दै आएका छन्। भूकम्पले यो दलित बस्तीको जमिन चिराचिरा बनाएको थियो। घरहरू सबै जमिनमा मिलेका थिए। भूकम्प स्मृति उद्यान निर्माण गर्न केही दिन अघि सरकारले रु. एक करोड बजेट पठाएको जानकारी दिँदै श्रेष्ठले आउँदो चैत्रमा टेण्डर आब्हान गरी उद्यान निर्माणलाई तीव्रता दिइने बताउनुभयो। उद्यान निर्माण गर्न दुई सय 16 रोपनी क्षेत्रफलको जग्गा छनौट गरिसकिएको छ।

उक्त भूकम्प स्मृति उद्यानभित्र भूकम्प स्तम्भ, संग्रहालय, भूकम्पका बेला क्षति भएका घरको भगनाबेशेषहरू जस्ताको त्यस्तै राखिनेछ। जसले गर्दा भूकम्पका बेला भएका क्षतिबारे भावी पुस्ताले अवलोकन तथा अध्ययन गर्न सक्नेछन्। स्मृति उद्यान निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक बारपाक भित्र्याउने योजना पनि बारपाकीको छ।

भूकम्पपछि स्वदेशी तथा विदेशी पर्यटक बारपाक पुगेका छन्। बारपाक अवलोकन गर्न आउने पर्यटकको संख्यामा बृद्धि गर्न बारपाकीले होमस्टे पनि संचालन गरिसकेका छन् भने स्तरीय होटलहरू संचालनमा छन्। भूकम्पले गोरखामा 472 जनाको मृत्यु भएको थियो।

जानकारी तथा लेखहरु