फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा रेलवे योजनालाई भारतद्वारा पनि उच्च प्राथमिकता

(GMT+08:00) 2017-03-10 14:12:14

चीनले नेपालमा रेलवे तथा वान बेल्ट वान रोड परियोजनालाई अगाडि बढाउन खोजिरहेकै बेला भारतले पनि रेलवे परियोजना उच्च प्राथमिकतामा राखेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समयमा नेपाल आएका भारतीय रेलवे मन्त्री सुरेश प्रभु र अर्थमन्त्री अरुण जेट्लीले नेपालमा रेलवे विकासलाई प्राथमिकता दिएको घोषणा गरिसकेका छन् भने भारतीय नीति पनि त्यसैमा केन्द्रित छ। भारतको सहयोगमा नेपालमा दुइटा रेल परियोजना अगाडि बढिरहेको छ भने अर्को एउटा परियोजनाको सम्भावना अध्ययनका लागि छिटो समझदारीपत्रमा हस्ताक्षर गर्न भारतले आग्रह गरिरहेको छ।

अन्य तीनवटा क्रस बोर्डर रेलवे परियोजनालाई अगाडि बढाउने तयारीमा पनि भारत सरकार लागेको देखिन्छ। चीनले केरुङ–काठमाडौं तथा काठमाडौं–पोखरा रेलवेको विकासका लागि प्रक्रिया अगाडि बढाइरहेको समयमा भारत पनि आफ्नो सीमादेखि काठमाडौंसम्म रेलवे विकास गर्ने सोचका साथ अगाडि बढिरहेको ईकान्तिपुर अनलाईनले लेखेको छ।

भारत सरकारले पछिल्लोपटक वरणी–काठमाडौंबीच रेलवे विकास गर्न सम्भाव्य अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न नेपालसमक्ष प्रस्ताव गरेको छ । यसका लागि उसले 50 लाख बजेट विनियोजनसमेत गरिसकेको छ। 'भारतले छिटो हस्ताक्षर गरौं भनिरहेको छ, तर चीनसँग पनि रेलवे परियोजना अगाडि बढाइरहेका कारण रुट यकिन गरेर अगाडि बढ्ने तयारीमा छौं,' एक नेपाली अधिकारीले भने।

यतिबेला भारत सरकारको सहयोगमा जयनगर–जनकपुर–बर्दिबास र जोगवनी–विराटनगर रेलवे परियोजना निर्माण कार्य अगाडि बढिरहेको छ । यसमध्ये 29 किलोमिटरको जयनगर–जनकपुर परियोजना सन् 2017 भित्र नै सक्ने लक्ष्य छ । दोस्रो चरणमा 22 किलोमिटर लामो जनकपुर–बिजलपुरा रेलवे निर्माण कार्य र त्यसपछि बर्दिबाससम्म तेस्रो चरणमा सक्ने लक्ष्य छ। जोगवनी–विराटनगर खण्डको निर्माण तीव्र गतिमा भइरहेको छ। उक्त परियोजना पनि केही वर्षभित्रै सक्ने लक्ष्य भारतको छ। भारतीय अधिकारीले आफ्नोतर्फ रेलवे निर्माण सम्पन्न भएको भन्दै नेपालले सकेसम्म छिटो गर्नुपर्ने बताइरहेका छन्। गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला यी दुई परियोजनालाई छिटो अगाडि बढाउन तत्कालन निर्णय लिने सहमति भएको थियो । केही महिनाअघि मात्रै भारतीय विदेश मन्त्रालयका अधिकारीले उक्त रेलवे परियोजनाबारे अध्ययन गरेका थिए।

नेपाललाई वार्षिक रूपमा दिने सहयोग रकमबाटै आगामी वर्षमा थप तीनवटा रेलवे परियोजना अगाडि बढाउने भारतको तयारी छ। दाहालको भ्रमणको समयमा नै काँकडभिट्टा–न्यु जलपाइगुडी, भैरहवा–नौतनवा र नेपालगन्ज–नेपालगन्ज रोड क्रसबोर्डर परियोजनालाई पनि अगाडि बढाउने सहमति भएको थियो। केही अघि पूर्वाधार सम्मेलनमा भाग लिन काठमाडौं आएका भारतीय रेलवेमन्त्री सुरेश प्रभुले काठमाडौं–दिल्ली तथा काठमाडौं–कलकत्ताको बीचमा भारतले रेलवे परियोजना अगाडि बढाउन चाहेको बताएका थिए। उनले नेपाल, भुटान, बंगलादेश र म्यानमार जोड्ने रेल नेटवर्कबारे सोचाइ भइरहेको बताएका थिए।

जानकारी तथा लेखहरु