फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंको वाग्मती नदी सरसफाईको दुई सय हप्ता पूरा, प्रधानमन्त्री सहभागी

(GMT+08:00) 2017-03-11 14:25:27

नेपाली सभ्यता, संस्कृति र चिनारीसँग जोडिएको बाग्मती सफाइ महाअभियानमा हजारौँ व्यक्ति बाग्मती किनारमा जुटेका छन्। बागमती सफाइ अभियानको 2 सय हप्ता पूरा भएको अवसरमा शनिबार प्रधानमन्त्री प्रचण्डदेखि लिएर प्रशासक, विद्यार्थी, कलाकार, सुरक्षाकर्मी एवं सर्वसाधारणले वागमती किनारमा भेला भएर ऐक्यवद्धता जनाएका छन्। प्रधानमन्त्री प्रचण्डले शंखमुलमा आयोजित कार्यक्रममा सहभागिता जनाउनुभयो भने उहाँसँगै मन्त्री, मुख्य सचिव लगायत उच्च सरकारी अधिकारीहरु सहभागी भए। त्यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीले नयाँ शक्तिको लोगो अंकित ज्याकेट लगाएर बागमती सफाइमा सहभागिता जनाएका थिए। धुर्मुस, सुन्तली, जितु नेपाल लगायतका कलाकारहरु पनि ब्यानरसहित अभियानमा सहभागी बने। धुर्मुस र सुन्तली नेपाल सरकारका सफाइ दूतसमेत हुन्।

वागमती सफाइ अभियन्ता तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल पनि वागमती सफाइ अभियानमा सहभागी बन्नुभएको थियो। तीन वर्षअघि ढल र फोहोरले छोपिएको बाग्मती सफा गर्ने क्रममा शनिबार दुई सय साता पूरा भएको हो। जनस्तरबाट सञ्चालित बाग्मती सफाइको महाअभियान मुलुकको अहिलेसम्मकै सबभन्दा ठूलो अभियान रहेको दाबी गरिएको छ।

तीन वर्षअघि 2070 जेठ 5 गते नागरिक अभियान्ताको पहलमा साप्ताहिक रूपमा बाग्मतीको सफाइ सुरु भएको थियो। बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बाग्मती हाम्रो सभ्यता र संस्कृति हो, यसलाई फोहोर गर्नुहुँदैन भन्ने चेतनाको विकास आमनागरिकमा हुनु नै यस अभियानको सबभन्दा ठूलो उपलब्धि रहेको बताउनुभयो।

राजधानीबासीको करिब 40 वर्षदेखिको आनिबानीमा यस अभियानले ठूलो सुधार ल्याएको दाबीसमेत उहाँले गर्नुभयो। नदी किनारका अतिक्रमित जग्गा खाली गर्न र जथाभावी फोहोर फ्याँक्नेलाई कानुनको कठघरामा उभ्याउन यो अभियानले सम्बन्धित निकायलाई घचघच्याउने काम गरेको बताउँदै यसै अभियानको अनुकरण र प्रभावले अन्य 25 जिल्लामा समेत नदी सफाइ अभियान सञ्चालन भइरहेको जानकारी उहाँले दिनुभयो ।

अभियानकै कारण बाग्मती किनारमा ढल बिच्छ्याउने काम अगाडि बढिरहेको बताउँदै पूर्व मुख्य सचिवसमेत रहनुभएका पौड्यालले यस अभियानको प्रभावबाट नै उपत्यकाका अन्य नदी किनारमा ढल बिच्छ्याउने र प्रशोधन गर्ने कार्यक्रम सरकारले ल्याएको दाबी गर्नुभयो।

बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता डा. राजु अधिकारीले यस अभियानले नदीनाला सफा राख्नुपर्छ भन्ने चेतनाको विकास आमनागरिकमा क्रमशः भइरहेको बताउँदै अभियानकै फलस्वरूप बाग्मती किनारमा 25 वटा बगैँचा जनस्तरबाट निर्माण भइसकेको जानकारी दिनुभयो ।

अभियानको बलमा सामाजिक योगदानबाटै बाग्मती किनारमा दर्जनौँ बगैँचा र पार्क निर्माण भइरहेको तथा हजारौँ बिरुवा रोपिएको बताउँदै उहाँले अभियानले नयाँ पुस्तामा स्वयंसेवी भावनालाई पुनर्जागृत गरेको धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु