फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको हिमाली क्षेत्रमा पदयात्राको सिजन सुरु

(GMT+08:00) 2017-03-13 18:21:31

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको छ। फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको पर्यटन व्यवसायीहरुले बताएको नेपाल खबर अनलाइनले लेखेको छ।

जाडो महिनामा खासै चाप नभएको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो। अहिले दैनिक एक सयजनाको हाराहारीमा पर्यटक आउन थालेको पर्यटक प्रहरी कार्यालय, लुक्लाले जनाएको छ। केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा पनि पर्यटकको आगमन बढेको छ। हवाइ मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या दिन प्रतिदिन बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता बढेको छ। सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था छ।

त्यस कार्यालयमा रहेको पर्यटक सूचना केन्द्रले पर्यटकलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकले अपनाउनु पर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुराका बारेमा पर्यटकलाई जानकारी उपलव्ध गराउँछ।

हिमाल चढ्ने मौसमको रुपमा चिनिने यो मौसमका लागि 'आइसफल डाक्टर' बाटो बनाउन सगरमाथा आधार शिविरमा पुगिसकेका छन्।

सगरमाथा क्षेत्रमा एक/दुई महिना बिताएर वातावारणसँग स्वास्थ्यको अनुकूल मिलाउनुपर्ने भएकाले एक/दुई महिनाअघि नै आरोही आउने क्रम सुरु हुने गरेको हो। मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटलमा पनि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी दोर्जी शेर्पाले बताउनु भएको छ।

एम वे टुर्स एण्ड ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक सुरेश दाहाल नेपाली पर्यटनको प्रमुख आम्दानीको स्रोतमा हिमालय क्षेत्रको पदयात्रा पनि भएको बताउनुहुन्छ। कुनैबेला पश्चिमी मुलुकका पर्यटकको चाप हुने हिमालय पदयात्रामा अहिले स्वदेशी, चिनियाँ तथा भारतीय पर्यटकको संख्या उल्लेख्य रुपमा बढिरहेको उहाँको भनाइ छ। 'घुम्नुपर्छ, घुम्दा मनोरञ्जन, नयाँ रहनसहन र शिक्षा प्राप्त हुन्छ भन्ने महसुस बढ्दै गएको छ,' पोखरा र काठमाण्डौंमार्फत् पर्यटन व्यवसाय गरिरहेका उहाँले भन्नुभयो, 'अहिले पश्चिमाभन्दा पनि स्वदेशी र एसियाली पर्यटकको उल्लेख्य चाप छ।'

उहाँका अनुसार, मुस्ताङ, जोमसोम, रारालगायतको क्षेत्रमा पनि स्वदेशी र छिमेकी मुलुकका पर्यटकको सहभागिता पश्चिमाभन्दा निकै बढी छ। सस्तो र छोटो समयमा घुमेर आउन पाइने भएकोले यी क्षेत्र उनीहरुको आकर्षण गन्तव्य भएका हुन्।

'अहिले सगरमाथामात्र होइन, पदयात्रा र ग्रामीण क्षेत्रको पर्यटनमा पनि धेरै गन्तव्य विकसित भइरहेका छन्,' पोखराका पर्यटन व्यवसायी बाबुराम भण्डारी भन्नुहुन्छ, 'नेपाली पर्यटन व्यवसायको लागि खुसीको कुरा हो।' आफ्नो टिमले माउण्ट कैलाश, मुस्ताङ, रारा लगायतको पर्यटन क्षेत्रमा विशेष पकड बनाएको उहाँ बताउनुहुन्छ। 'हामीले लैजाने अधिकांशः पर्यटक स्वदेशी, भारतीय र केही चिनियाँ हुन्' उहाँले जानकारी दिनुभयो।

http://nepalkhabar.com/np/news/business/11789/

जानकारी तथा लेखहरु