फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीले चैत दोस्रो साता चीनको भ्रमण गर्नुहुने

(GMT+08:00) 2017-03-14 18:04:50
 नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमण गर्नु हुने भएको छ। प्रधानमन्त्री दाहाल चीनको हाइनान प्रान्तको पोआओ एसिया फोरममा सहभागी हुने गरी चैत 10 गते चीन भ्रमणमा जाने तय भएको नेपाल खबर अनलाइनले लेखेको छ। प्रधानमन्त्री दाहालको चीन भ्रमणकै समयमा चिनियाँ रक्षामन्त्री चाङले नेपालको भ्रमण गर्दै हुनुहुन्छ।

रक्षामन्त्री चाङ चीनमा चिनियाँ राज्य परिषदका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य हुनुहुन्छ। उहाँ नेपालमा दाहालको नेतृत्वमा काँग्रेस–माओवादी गठबन्धन सरकार बनेपछि नेपाल भ्रमण गर्ने चीन सरकारका उच्च नेता हुनुहुनेछ।

रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री चाङले चैत 10 देखि 12 गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले सर्कुलर नै जारी गरेर चिनियाँ रक्षामन्त्री चाङको नेपाल भ्रमणको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएको छ। सेनाले हालै जारी गरेको निर्देशनमा कार्यरथी कार्यालय अन्र्तगत बीरेन्द्र सैनिक अस्पतालबाट भीआइपी एम्बुलेन्ससहित नर्सहरूको अर्दली र युद्धकार्य निर्देशनालयबाट भ्रमण अवधिभर स्कर्टिङ तथा सुरक्षा दिने व्यवस्था गर्न भनिएको छ।

सेनाले रक्षामन्त्रीको भ्रमणको क्रममा सिग्नल तथा सूचना प्रविधि निर्देशनालयबाट दक्ष प्राविधिकसहितको सिग्नल व्यवस्थापनको तयारी गरेको पत्राचारमा उल्लेख छ।

रक्षामन्त्री चाङको मैत्रीपूर्ण भ्रमणको क्रममा ठूलो सम्झौता नहुने बरु संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने नेपाली सेनाका लागि लेजिष्टिक सहयोग लिन सकिने रक्षमन्त्री खाँडले बताउनुभयो।

नेपाल र चीनका सेनाबीच पहिलो पटक संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला चीनको केन्द्रिय सैन्य आयोगका सदस्य समेत रहेका रक्षामन्त्री चाङ नेपाल आउन लागेका हुन्। नेपालमा रहँदा मन्त्री चाङले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा सहितका मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ। चिनियाँ रक्षामन्त्री चाङको भ्रमणले चीनबाट हुन सक्ने उच्च भ्रमणलाई सहज गराउने रक्षामन्त्री खाँडले बताउनुभयो।

http://nepalkhabar.com/np/news/politics/11820/

जानकारी तथा लेखहरु