फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजधानीको खानेपानीका लागि 1 खर्ब लगानी

(GMT+08:00) 2017-03-15 16:37:42

काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनका लागि एक खर्ब रूपैयाँ लगानी हुने भएको छ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणदेखि उपत्यकाको पाइप विस्तारसम्ममा करिब एक खर्ब रुपैयाँ लगानी हुने खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले जानकारी दिनु भएको कारोबार अनलाइनले लेखेको छ।

सचिव उपाध्यायका अनुसार मेलम्चीको पहिलो चरणको कामअन्तर्गत मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणका लागि 30 अर्ब, दोस्रो चरणको याङ्ग्री र लार्के खोलाका लागि 30 अर्ब, पाइपलाइन विस्तारका लागि 25 अर्ब र ढल प्रशोधन केन्द्र निर्माणका लागि 14 अर्बसहित कुल 1 खर्ब रूपैयाँ लगानी हुने भएको हो।

मेलम्ची आयोजनाको मुख्य काम मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङमार्ग करिब 27 किलोमिटर लामो सुरुङमार्ग निर्माण हो। पहिलो चरणको आयोजनाको अनुमानित लागत 27 अर्ब रूपैयाँ (तत्कालीन 31 करोड 70 लाख अमेरिकी डलर) रहेको थियो।

"समयमा काम सम्पन्न हुन नसक्दा अहिले आयोजनाको लागत बढेर 30 अर्ब नाघ्ने अनुमान रहेको छ," उपाध्यायले भन्नुभयो, "निर्धारित समयभन्दा आयोजानका काम झन्डै 5 वर्ष ढिला हुनु र डलरको सटही मूल्यसमेत बढेकोले लागत अनुमानभन्दा बढेको अवस्था छ।"

यसमध्ये एडीबीले 13 करोड 70 लाख कर्जा लगानी गरेको छ। जापानी सहयोग नियोग (जाइका) को 1 करोड 80 लाख, जापानकै अन्तराष्ट्रिय सहयोग बैंक (जेबी)को 4 करोड 75 लाख, तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक)को 1 करोड 37 लाख, नर्डिक विकास फन्डको 1 करोड 4 लाख र नेपाल सरकारको 9 करोड 6 लाख 40 हजार अमेरिकी डलर बराबर आयोजनामा लगानी भएको छ। दोस्रो चरणको याङ्ग्री र लार्केको लागि पनि एडीबीसँग ऋण सम्झौता भइसकेको छ।

सुन्दरीजलमा मेलम्ची आयोजनाले पानी प्रशोधनका लागि पानी प्रशोधन केन्द्र निर्माण गरिसकेको छ। पहिलो चरणमा करिब 8 करोड लिटर मात्र पानी प्रशोधन केन्द्र निर्माण भएकोमा आयोजनाले दोस्रो चरणमा 17 करोड लिटर पानी नै प्रशोधन गर्ने गरी काम सुरु गरिसकेको छ।

पहिलो चरणको पानी प्रशोधन केन्द्रको काम 071 वैशाखदेखि जापानी सहयोगी नियोगको (जाइका)को सहयोगमा निर्माण सुरु भएको थियो। हाल यसको काम करिब पूरा भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

प्रशोधन केन्द्र आयोजना निर्माण गर्ने सम्बन्धमा 071 असारमा नेपाल सरकारसँग ठेकेदार कम्पनी अष्ट्रियाको भियटेक बेगार र भारतको प्रतिभा इन्डष्ट्रिज लिमिटेडले संयुक्त रूपमा ठेक्का सम्झौता गरेका छन्। यी ठेकेदार कम्पनीले संयुक्त रूपमा 4 अर्ब 20 करोड रूपैयाँको ठेक्का पाएका थिए।

http://www.karobardaily.com/news/74341

जानकारी तथा लेखहरु