फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा आजदेखि एसईई परीक्षा

(GMT+08:00) 2017-03-16 17:54:00

आजदेखि नेपालमा एसईई परीक्षा (एसएलसीको रूपान्तरित माध्यामिक परीक्षा प्रणाली) सुरु भएको छ। संशोधित शिक्षा ऐनअनुसार कक्षा 12 सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि नयाँ प्रणालीमा परीक्षा लिन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभएको नेपाल खबर अनलाइनले लेखेको छ।

परीक्षामा देशभरबाट दुई लाख 59 हजार सात सय 32 छात्र र दुई लाख 78 हजार चार सय 50 छात्रा गरी कुल पाँच लाख 38 हजार एक सय 82 परीक्षार्थी सहभागी भएका छन्। देशभर कुल एक हजार नौ सय 23 केन्द्र निर्धारण गरिएको छ।

त्यसैगरी, एक हजार नौ सय 23 केन्द्राध्यक्ष, दुई हजार 6 सय 46 सहायक केन्द्राध्यक्ष, 22 हजार चार सय 61 निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित 67 हजार पाँच सय 91 जनशक्ति खटाइएको उहाँले बताउनुभयो। परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत 3 गते अनिवार्य अङ्ग्रेजी, 4 गते अनिवार्य नेपाली, 6 गते अनिवार्य गणित, 7 गते अनिवार्य विज्ञान, 8 गते सामाजिक शिक्षा, 9 गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, 10 गते ऐच्छिक प्रथम र 11 गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ। परीक्षा साधारणतर्फ चैत 11 गते र प्राविधिकतर्फ चैत 14 गते सम्पन्न हुनेछ।

विगतका वर्षमा एसएलसी परीक्षाका रूपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मा सञ्चालन गर्ने उल्लेख गरेको थियो। तर तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिइएको हो।

परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन्। परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा 18 वटा अनुगमन टोली खटाएको छ।

जानकारी तथा लेखहरु