फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीको चीन भ्रमण राजकीय हुने

(GMT+08:00) 2017-03-17 18:05:16

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण राजकिय (औपचारिक) हुने भएको छ। उहाँलाई बेइजिङमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ भेटघाटको रेड कार्पेट ओछ्याइने भएको कान्तिपुर अनलाइनले लेखेको छ। उहाँले बेइजिङमा उच्चस्तरको भेटघाट गरेपछि मात्र पोआओ फोरममा सहभागी गराउने गरी तयारी अघि बढेको परराष्ट्र स्रोतले बतायो।

चैत 10 मा दाहाल चीन जानेगरी प्रक्रिया अघि बढेको छ। उहाँ सुरुमा बेइजिङ पुग्नुहुनेछ त्यहाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग भेट गरेर पोआओ फोरम आउने तयारी छ। यसअघि पोआओबाट त्यसतर्फ जाने भनिएको थियो। बेइजिङमा राजनीतिक वार्ता गरेर मात्र पोआओ फोरममा आउने भएपछि त्यहीअनुरूप मिलाइने भएको हो। दाहालको भ्रमणलाई लिएर चिनियाँ राजदूत यू होङसहितको टोलीले परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग बिहीबार भेटेर तयारीबारे छलफल समेत गर्नुभएको थियो।

गतवर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई पनि त्यसैगरी मिलाइएको थियो। मन्त्रालयले भने अझै भ्रमण यस्तै खालको भन्ने तय भइनसकेको बताएको छ। परराष्ट्रमन्त्रीसँग भएको छलफलमा दुईपक्षीय समझदारी र प्रधानमन्त्रीको भ्रमण मोडेलबारे छलफल भएको अधिकारीहरूले बताए। भ्रमणमा प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्था र नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धतामा चीनलाई आश्वस्त पार्ने काम हुनेछ। पछिल्लो सरकारको कामप्रति चीन आशंकित भएकाले त्यस विषयलाई चिर्न पनि प्रधानमन्त्रीको चीन भ्रमण आवश्यक रहेको एक अधिकारीले बताए।

ओलीले औपचारिक भ्रमणका क्रममा उठाएका विषयलाई थप मजबुद हुने गरी अघि बढाउन सरकारले काम गरिरहेको छ। परराष्ट्र सचिव र अर्थ सचिवस्तरीय बैठक नभएको अवस्थामा बिनातयारी दुईपक्षीय भ्रमण हुन लागेको भन्दै प्रधानमन्त्रीले यसलाई बढी राजनीतिक भ्रमणको रूपमा उपयोग गर्ने अवस्थामा भ्रमणलाई चीनले राजकीय बनाउन लागेको हो। गत वर्ष भएका सम्झौतालाई कुन रूपमा अघि बढाउने भन्ने विषयमा अन्तरमन्त्रालय छलफल पनि भइरहेका छन्। पारवहन तथा यातायात, हिल्सा यारीमा पुल निर्माण तथा मर्मत–सम्भार, पोखरा विमानस्थलसम्बन्धी तीन फरकफरक सम्झौता, चीनलाई दिने उपहार, नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन, नेपालको व्यापार प्रवद्र्धन सम्भाव्यता अध्ययन, नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने र सोलार प्यानल चीनले उपलब्ध गराउने विषयलाई अघि बढाउने तयारी छ।

भ्रमणमा पाँचभन्दा बढी महत्त्वपूर्ण विषयमा सहमति हुने गरी तयारी अघि बढेको छ। अधिकारीहरूका अनुसार भ्रमणमा प्रधानमन्त्री दाहालले 'वान बेल्ट वान रोड' (ओबर) मा नेपालको प्रतिबद्धता जाहेर गर्नेछन्। प्रधानमन्त्रीले यसअघि नै ओबरमा सम्झौता गर्ने बताइसकेका थिए। चिनियाँ मुद्रा नेपालमा सहज उपलब्धताका लागि छुट्टै सहमति गर्ने तयारी छ। त्यसका अलवा इन्धन भण्डारण, रेलमार्गको विषय पनि रहेको छ। तातोपानी नाका खुलाउने विषयमा पनि उनले पहल गर्नेछन्। चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा बढावा दिन पनि औपचारिक आग्रह गर्ने बताइएको छ। स्वतन्त्र व्यापार क्षेत्र, आर्थिक जोन लगायतका विषयमा समेत छलफल हुने बताइएको छ। चिनियाँ नागरिकलाई दिँदै आएको फ्री भिसाको विषयमा पनि अर्को प्रवाधानबारे छलफल हुने एक अधिकारीले बताए।

राजनीतिक स्तरमा सहमति भएपछि कर्मचारी तहमा कामै नहुँदा यस्ता विषय अल्झिने पुरानै व्यथा रहेकाले यसलाई सुधार गर्न समेत आग्रह गरिएको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले तयारी अघि बढेको उल्लेख गर्दै दुईपक्षीय हितमा केन्द्रित रहेर भ्रमण हुने बताइए पनि उहाँले भ्रमणको मोडल अझै आइनसकेको जानकारी दिनुभयो। चैत 10 देखि 13 सम्म हाइनान प्रान्तमा हुने 'पोआओ फोरम फर एसिया'मा जान लागेका उहाँ सिधै बेइजिङ जाने र भोलिपल्ट पोआओ आउने गरी काम अघि बढेको भन्दै त्यसलाई अन्तिम रूप दिन लागिएको एक अधिकारीले बताए। सम्मेलनमा प्रधानमन्त्री दाहाललाई विशेष वक्ताका रूपमा निमन्त्रणा गरिएको छ। उहाँ फोरममा भाग लिनुअघि नै उच्चस्तरको भेटघाट गर्न लाग्नुभएको हो।

http://kantipur.ekantipur.com/news/2017-03-17/20170317073958.html

जानकारी तथा लेखहरु