फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

(GMT+08:00) 2017-03-17 18:06:05

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हिजो बिहीबारदेखि भृकृटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभयो। मेलाले नेपालका तुलनात्मक लाभका वस्तुहरूको विश्व बजारमा प्रवद्र्धन गर्न सघाउ पुग्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री दाहालले लगानी सम्भाव्यताका विषयमा बाह्य जगतमा सन्देश पुर्‍याउनसमेत मेला सहयोगी हुने जनाउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

'व्यापार मेलाले सहभागी राष्ट्रहरू बीचको आर्थिक व्यावसायिक सम्बन्धलाई प्रगाढ बनाउँछ। व्यापारिक साझेदारीका सम्भाव्यता खोजी गर्न मद्दत गर्छ,' उहाँले भन्नुभयो, 'जसले गर्दा नयाँ वस्तु उत्पादन विस्तार, रोजगारी सिर्जना, अन्तर्राष्ट्रियस्तरमा प्रवद्धन भई निर्यात बढ्नेछ।' उहाँले सरकार आर्थिक विकासका सचेत रहेको दाबी गर्नुभयो। आर्थिक विकासकै लागि आवश्यक ऐन कानुनलाई पारित गर्ने काम निरन्तर अगाडि बढाएको उहाँले बताउनुभयो। 'निजी क्षेत्रको सल्लाह सुझावसमेतलाई मनन गरी देशमा लगानीमैत्री वातावरण तयार गर्ने ऐन कानुनहरू ल्याएका छौं,' उहाँले भन्नुभयो, 'आर्थिक समृद्धिका लागि थप कानुन ल्याउने गृहकार्य भइरहेको छ।'

उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मेलाबाट क्रेता, बिक्रेता र लगानीकर्ता एउटै ठाउँमा सहभागिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाएको बताउनुभयो। उहाँले मेलाबाट व्यावसायिक सम्झैता र लगानी गर्न सहयोग गर्ने बताउनुभयो। व्यापारिक मेलाका लागि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल नहुँदा स्टहरू फर्काउन बाध्य भएको उहाँले बताउनुभयो। 'मेलामार्फत केही व्यवसायीको बजार विस्तार भएको छ। तर, प्रदर्शनी गर्न अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल छैन। प्रदर्शनी हल नहुँदा केही स्टलहरू फर्काउन बाध्य भएका छौं,' उहाँले भन्नुभयो।

चोभारमा निर्माण गर्ने भनिएको प्रदर्शनीस्थलको हालसम्म पनि प्रक्रिया अघि बढ्न नसकेको गुनासो उहाँले गर्नुभयो। कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट नीतिगत निर्णय गर्ने बताउनुभयो। 'प्रदर्शनीस्थल नहुँदा धेरै समस्या छ। मन्त्रिपरिषद्बाट आफैं नीतिगत निर्णय गराउँछु,' उहाँले भन्नुभयो, 'नीतिगत निर्णयसँगै व्यवहारमा पनि लागू हुन्छ।' बिहीबार बसेको बैठकले व्यापार तथा प्रदर्शनीका लागि आवश्यक प्रदर्शनीस्थल निर्माण प्रक्रिया अघि बढाउन वाणिज्यमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले व्यापार प्रवद्र्धन र प्रदर्शन गर्न अन्तर्राष्ट्रियस्तरकै प्रदर्शनी हल आवश्यक रहेको बताउनुभयो। प्रदर्शनीस्थलका लागि प्रधानमन्त्रीले गरेको प्रतिबद्धताबाट निजी क्षेत्र खुसी भएको बताउनुभयो। यस किसिमको प्रदर्शनीस्थलले मुलुकको व्यापार घाटा कम गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको दाबी छ।

व्यापार मेला सभापति केशव पाण्डेलेका अनुसार मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्यान्डको पनि सहभागिता छ। विदेशी गरी 3 सय 40 स्टल राखिएको छ।

मोलामा हिमाली जडीबुटीको मुख्य आकर्षण रहेको आयोजकले जनाएको छ। यस्तै हस्तकला, कृषि उत्पादन, ऊर्जा, भवन निर्माण, औषधिजन्य, फलाम, जुत्ता, लत्ताकपडाको छुट्टाछुटै स्टल राखिएको छ। मेलामा 5 लाख अवलोकनकर्ता सहभागी हुने र 15 करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको पाण्डेलेले बताउनुभयो।

http://kantipur.ekantipur.com/news/2017-03-17/20170317090014.html

जानकारी तथा लेखहरु