फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालबीचको सम्बन्धमा एक पेटी एक मार्ग कार्यक्रम महत्वपूर्ण हुने नेपालका लागि चिनायँ राजदूतको भनाइ

(GMT+08:00) 2017-03-18 14:43:34

नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल र चीनबीचको सम्बन्धमा आउने असहजता चिर्न दुवै देशले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। समस्या समाधानका लागि एक पक्षीय प्रयास अपुग रहने उल्लेख गर्दै उहाँले भन्नुभयो, 'हामी सँगसँगै काम गरौं, धेरै गर्न सक्छौं।' नेपाल विकासको खुडकिलोमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, 'नेपाल र चीन मिलेर विकासको पाटोमा धेरै काम गर्न सकिनेछ। त्यसका लागि दुवै पक्षबाट उत्तिकै सहकार्य र जागरुकता आवश्यक पर्छ।'

काठमाडौं स्कुल अफ लको 'एक पेटी एक मार्ग परियोजनाको दृष्टिकोण तथा दक्षिण एसियासँग चीनको सम्पर्क' कार्यक्रममा उहाँले चीनले अघि सारेको 'वान बेल्ट वान रोड' (ओवर) मार्फत अघि बढ्न सकिने बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

'चीनको प्राथमिकतामा छिमेकी र आसपासका मुलुकसँग सहकार्य गर्दै विकास प्रक्रियामा सँगै अघि बढ्ने हो,' उहाँले भन्नुभयो। उहाँले दक्षिण एसिया र दक्षिण पूर्वी एसियासँग चीन थप सहकार्य गर्दै अघि बढ्न खोजेको स्पष्ट पार्नुभयो।

ओवरमा 50 भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनले समझदारी गरिसकेको र सयभन्दा बढी मुलुकले त्यसमा सकारात्मक धारणा राखेको भन्दै उक्त अभियानलाई सडक सञ्जालका रूपमा मात्र नबुझ्नसमेत उहाँले आग्रह गर्नुभयो। ओवरबाट चीनलाई मात्र होइन परियोजनामा सहभागी हुने सबै देश लाभान्वित बन्ने चर्चा गर्दै नेपाल पनि त्यसमा साझेदार हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। नेपालको उच्च राजनीतिक नेतृत्वसँग यसबारे कुराकानी भइरहेको र सकारात्मक जवाफ पाएको उहाँले बताउनुभयो। नेपाल र चीनबीचको व्यावहारिक सम्बन्ध र पारस्परिक सहयोगमा आफूहरू सधैँ सकारात्मक रहेको समेत उहाँले बताउनुभयो। राजनीतिक दल, सरकार, बुद्धिजीवी, नागरिक समाज, गैरसरकारी संस्थालगायत सबै पक्षको ऐक्यबद्धताले नै यस्ता अवधारणा अघि बढ्ने उहाँले बताउनुभयो।

प्राध्यापक युवराज संग्रौलाले ओवर परियोजनाको सम्भावना तथा दक्षिण एसियासँग चीनको सम्पर्क विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालको द्रुत आर्थिक विकासमा सहयोग पुग्ने ओवरमा नेपाल सामेल हुनुपर्ने बताउनुभयो। वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले ओवर राजनीति नभई विकाससँग सम्बन्धित भएकाले सबै पक्ष सहमत भई विकासको बाटो खोल्नका लागि सामेल हुन विलम्ब गर्न नहुने बताउनुभयो। पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चीनसँगको नेपालको प्राचीन सम्बन्ध अघि बढाउने अवसर आएकाले ओवरमा हस्ताक्षर गर्न आग्रह गर्नुभयो।

अर्का पूर्वराजदूत सुन्दरनाथ भट्टराईले चीनसँग यसअघि भएका सम्झौता तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो। चीनमा अध्ययन गरेर फर्केका डा. कल्याण शर्माले चीनसँग विकासका लागि यस्ता सम्झौता गर्दै पर्यटन क्षेत्रको आयाम थप बलियो पार्नुपर्ने बताउनुभयो। डा. भाष्कर कोइराला, आश्विन पुडासैनी, चाउएनलाई श्रेष्ठ, प्रेमचन्द्र राई, हङकङ राणा लगायतले नेपाल–चीन सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो।

http://kantipur.ekantipur.com/news/2017-03-17/20170317204330.html

जानकारी तथा लेखहरु