फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीको विहीबारदेखि चीन भ्रमण हुने

(GMT+08:00) 2017-03-21 14:47:17

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाइनानमा आयोजना हुने पोआउ एसियाली मञ्चमा भाग लिन बिहीबार चीन प्रस्थान गर्ने कार्यक्रम छ। सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले प्रधानमन्त्री मञ्चमा भाग लिएर पैचिङ्ग जाने तय भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी चिन फिङ्गबीच औपचारिक भेटसमेत हुनेछ। भेट करिब आधा घण्टा हुने तयारी सहित सबै काम अघि बढेको छ। प्रधानमन्त्रीका रूपमा दाहालको यो दोस्रो चीन भ्रमण भए पनि सीसँगको दुईपक्षीय भेट भने यो तेस्रो हो।

चैत 10 मा नेपाल भ्रमणमा आउने चिनियाँ रक्षामन्त्रीसँग भेटेर दाहाल त्यही दिन राति पोआउ जाने कार्यक्रम छ। एक साता पोआउ, पैचिङ्ग, छङ्गतु र ल्हासामा रहनुहुने ईकान्तिपुरले लेखेको छ।

भ्रमण राजकीय बनाउने, चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग दुईपक्षीय सम्झौता गर्नेलगायतको तयारी भए पनि कार्यक्रम आकस्मिक रूपमा परिवर्तन भएको हो। प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यी दुवै जना न्युजिल्यान्डमा हुने भएपछि प्रधानमन्त्रीले दुई दिनअगावै जाने तयारी गरेपनि त्यसमा चीनले सहमति जनाएन। अन्तत: उहाँ चैत 10 मा नै त्यसतर्फ गई पोआउमा सम्बोधन गर्ने र 12 गते पैचिङ्ग पुग्ने गरी तालिका तय भएको छ। साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि हुनुहुनेछ।

प्रधानमन्त्रीको चीन भ्रमणको गृहकार्य परराष्ट्र मन्त्रालयले अझै पूरा गर्न सकेको छैन। भ्रमणका क्रममा वान बेल्ट वान रोडदेखि अन्य सम्झौता गर्ने विषय पनि अझै टुंगोमा पुग्न सकेको छैन। पुराना सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता र चीनको सहयोग घोषणामात्र यो भ्रमणमा हुनसक्ने अधिकारीहरूले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार क्वाङ्चौ हुँदै हाइनान पुग्ने र शुक्रबार बिहान चिनियाँ उपप्रधानमन्त्री चाङ काउलीसँग भेटवार्ता गरी शनिबार पोआउ फोरमलाई सम्बोधन गर्ने तालिका छ। ।

सम्बोधन सकिएपछि प्रधानमन्त्री दाहाल पैचिङ्ग प्रस्थान गर्ने र नेपाली दूतावासले शनिबार साँझ आयोजना गर्ने रात्रिभोजमा सहभागी भएर पुराना राजदूत, थिंकट्यांक, प्राध्यापक र नेपालीलाई भेट्ने कार्यक्रम छ। चैत 13 गते दिउँसो पैचिङ्ग वैदेशिक अध्ययन विश्वविद्यालयमा आयोजित गोष्ठीमा 'नेपाल चीन सम्बन्ध : विकास र समृद्धिको अभिलाषा' विषयमा मन्तव्य राख्नुहुनेछ।

चीनका लागि राजदूत लीलामणि पौडेलले प्रधानमन्त्री दाहालको टोलीको टुंगो लागिनसकेको बताउनुभयो। प्रधानमन्त्री चैत 14 गते अपराह्न पैचिङ्गबाट छङ्गतु प्रस्थान गर्ने र 15 गते ल्हासा पुगी केही महत्त्वपूर्ण भेटघाट गरी 16 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

जानकारी तथा लेखहरु