|
|
|
||
एक साता लामो चीन भ्रमणका सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बिहीबार निस्कदैँ हुनुहुन्छ। उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम छ। तर, भ्रमणमा कुनै सन्धि–सम्झौतामा भने हस्ताक्षर हुनेछैन।
पराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गर्नुभएको हो। चीनको हाइनान प्रान्तको पोआउ सहरमा आयोजना हुने वार्षिक सम्मेलनको उद्घाटनमा सहभागी हुनुहुनेछ।
नेपालले चारपाँचवटा विषयमा गृहकार्य गरे पनि प्राविधिक कारणले अहिले सम्झौता नहुने तर दुई देशबीच विगतमा भएका सन्धि, सम्झौता कार्यान्वयनमा नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री महतले बताउनुभयो। उहाँका अनुसार नेपालले चीनसँग सम्झौताका लागि लगानी, अन्तरसीमा आर्थिक क्षेत्र लगायतका विषयमा गृहकार्य गरेको थियो। "उपयुक्त समयमा चीनसँग प्रसारण लाइन, लगानी, अन्तरसीमा आर्थिक क्षेत्र, एक क्षेत्र एक मार्ग (ओबीओआर) र कोदारी–रसुवागढी सडक 12 महिना सञ्चालन गर्नेगरी सम्झौता गर्नेबारे नेपालले गृहकार्य गरेको छ", परराष्ट्रमन्त्री डा. महतले भन्नुभयो।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र केरुङ–काठमाडौँ रेल विस्तार, ओबीओआर, पारवहन लगायतका विषय अघि बढाउन वर्तमान सरकार पनि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यतालिका अनुसार चैत 10 गते सुरु हुने पोआउ फोरमको सम्मेलन चैत 13 गतेसम्म सञ्चालन हुनेछ। त्यही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बिहीबार चीन जाने कार्यक्रम छ। प्रधानमन्त्रीको भ्रमणदलमा पत्नी सीता दाहाल, पररराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी तथा मन्त्रालयका उच्च अधिकारी छन्।
पोआउमा रहँदा प्रधानमन्त्री दाहालले 11 गते चीनका उपप्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ। उहाँले चैत 12 गते पोआउ फोरमलाई सम्बोधन गर्नुहुनेछ। पोआउ मञ्चको उद्घाटनलाई सम्बोधन गरेपछि त्यही दिन उहाँ बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम छ।
बेइजिङमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उहाँले चैत 13 गते नेपाल–चीन सम्बन्ध विषयमा बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम छ। विद्वान्, शिक्षाविद्, व्यवसायी तथा विद्यार्थीलाई सम्बोधन गरेपछि उहाँले विश्वविद्यालय परिसरमा स्थापित नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ। सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायलाई समेत सम्बोधन गर्नुहुनेछ।
बेइजिङपछि प्रधानमन्त्रीको टोली तिब्बत पुग्ने कार्यक्रम छ। तिब्बत सरकारका नेतासँग त्यहाँ भेट गर्ने र नेपाल र तिब्बतबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्रलाई थप क्रियाशील बनाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको टोली चैत 1६ गते ल्हासाबाट स्वदेश फर्कने कार्यक्रम छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |